चितवन– भरतपुर महानगरपालिका–१ लिलाचोक नारायणगढका राम कुलुले मादल बनाउने पेसा थालेको १८ वर्ष भयो। आफ्ना बुबाले मादल बनाउन सिकाएका उनलाई अहिले मादलमात्र होइन छालाबाट बन्ने वाद्यवादनका सबै सामान बनाउन आउँछ। उनको दैनिकी नै छालाबाट बन्ने बाजा बनाउने काममा बित्ने गरेको छ।
एक/दुई वर्षअघिसम्म यो पेसाबाट सन्तुष्ट उनी पेसामा आएको संकट र व्यवसायमा आएको मन्दीका कारण चिन्तित छन्। तिहारको समयमा पनि मादल बिक्री नभएपछि उनी वैकल्पिक पेसा अपनाउनु पर्ने हो कि भन्ने सोचमा छन्।
उनले नारायणगढमा आकृति मादल पसल सञ्चालन गरेको नै दश वर्ष भयो। त्यसअघि मुग्लिनलगायत ठाँउमा उनले मादल बनाउने र बिक्री गर्ने गर्थे।
‘यो सिजनमा कोरोनाभन्दा अघिका वर्षमा दैनिक आठ/दशवटा मादल बिक्री हुने गर्थ्यो’, उनले भने, ‘यस वर्ष दिनमा एक/दुईवटा पनि बिक्री हुन धौधौ छ।’ उनले उत्पादन गरेका मादल काठमाडौं, पोखरा, बागलुङ, बुटवल र पूर्वी नेपालकासमेत विभिन्न सहरमा पुग्ने गर्दछ।
‘मादलको बिक्री सबैभन्दा धेरै गाउँमा हुने हो। अहिले गाउँघरमा पनि तिहारको बेला स्पिकर र डेक बजाउन थाले’, उनले भने। एक हजार ५०० देखि सात हजारसम्मका मादल उनले बनाउने गरेका छन्।
‘पहिले मनोरञ्जनको साधनको रुपमा मादल मात्र थियो,’ कुलुले भने, ‘अहिले विभिन्न माध्यम आए।’ मादल बजाउन नजान्ने अहिलेका पुस्ताबाट बाजाको संरक्षण हुन नसक्ने उनको भनाइ छ।
उनले भने, ‘अहिलेको पुस्ता कतिलाई मादल बजाउन आउँदैन। अङ्ग्रेजी गीतमा नाच्न थालेकालाई मादल बजाउन लाज लाग्न थालेको छ।’ उनले विद्यालयदेखि नै मादललगायत अन्य मौलिक बाजा बजाउन बालबालिकालाई सिकाउनुपर्ने विचार राखे।
पलायन हुन थालेका मादल व्यवसायीलाई सरकारबाटै संरक्षण हुनुपर्ने उनले बताए। ‘स्थानीय पालिका, टोल विकास समिति, विभिन्न जातजातिका सांस्कृतिक टोलीलगायत मौलिक बाजा बचाऊ अभियानमा लाग्नुपर्छ’, उनले भने।
व्यवसायीको आम्दानी भएनभन्दा पनि हाम्रो मौलिक अस्तित्व जोखिममा छ भनेर सबैले बुझ्न आवश्यक रहेको कुलुले बताए।
मादल बनाउन प्रयोग हुने सामग्री पूर्वी नेपालबाट ल्याउने गरेको उनको भनाइ छ। अहिले मादललाई आकर्षक देखाउन रिङको प्रयोग हुने गरेकोले सो सामग्री भारतबाट ल्याउन थालेको जानकारी दिए।
उनको जस्तै तिहारमा भीडभाड हुने नारायणगढका अन्य मादल पसल पनि सुनसानजस्तै भएका छन्। मादल बजाई देउसीभैलो खेल्ने यो पर्वमा फाट्टफुट्ट ग्राहक मात्र देखिन्छन्।
सरकारले नेपाली मौलिक बाजाको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कको उमेश मादल पसलका नारायण नेपालीले बताए।