नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राष्ट्रपतिका लागि तानातान नभई सहकार्य र सहमति हुनुपर्ने बताएका छन्।
शुक्रवार संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिका लागि नेकपा एमाले, नेपाली कांग्रेस लगायत अन्य दलहरुले सहमति गरेर अघि बढ्न आवश्यक रहेको बताए।
उनले राजनीतिक खिचातानी, लडाईं लडेर नभई अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्ने बताए।
उनले भने, ‘हामीले एजेण्डाहरूसहित राष्ट्रिय सहमति गर्ने भनेर प्रस्ताव अघि सारेका छौँ । त्यो एमालेसँग पनि छलफल हुन्छ, अरू पार्टीसँग पनि छलफल हुन्छ र अहिले तानातानको अवस्था होइन, सहकार्यको अवस्था हो । सहकार्य गरेर जानुपर्छ, राष्ट्रिय सहमति गर्नुपर्छ । राजनीतिक खिचातानी, लडाईं लडेर होइन, अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्छ ।’
सांसद शर्माले आज साँझ बस्ने नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालसहितका राजनीतिक दलहरुको बैठकपछि राष्ट्रपति उम्मेदवारको टुंगो लाग्ने बताए।

