५ चैतमा त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुँदैछ । यसका लागि त्रिवि र यसका आंगिक क्याम्पसहरुमा शुक्रबारबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । जसमा त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
१९ फागुन विद्यार्थी संघ÷सङ्गठन दर्ता, २१ फागुन मतदाता सूचि प्रकाशन, २५ फागुन मतदाता सूचि दाबी–विरोध र २६ फागुनमा उम्मेदवारको मनोनयन पत्र वितरण र २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।
कार्यतालिका अनुसार २८ फागुनको साँझ ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।
विद्यार्थी हकहितको लागि भन्दै विद्यार्थी संगठनहरु चुनावी मैदानमा होमिन लागेका हुन् । केन्द्रीय राजनीतिमा विद्यार्थी राजनीतिले महत्वपूर्ण भूमिका खेल्ने गरेको हुँदा राजनीतिक दलहरु पनि स्ववियु चुनावलाई नजिकबाट नियालिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्वयु (अखिल क्रानितकारी), नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठन (नेविसंघ), नेकपा एमाले निकट, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु) लगायतका विद्यार्थी संगठनहरु र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिँदैछन् ।
स्ववियुको चुनावले यतिबेला, त्रिभुवन विश्वविद्यालयको माहोल तातेको छ । स्ववियु चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न विद्यार्थी नेताहरुको दौडधुप बढेको छ । त्यसो त सभापतिको दाबेदारको लागि प्राय विद्यार्थी संगठनबाट चार÷पाँच जना प्रत्याशी छन् । उनीहरु आफूलाई सभापतिको उम्मेदवार बनाउन आफ्ना पार्टीका नेताहरुसँग भेटघाटतिर लागेका छन् ।
ऋखिल क्रान्तिकारीबाट स्ववियु सभापतिमा प्रदीप भट्ट उठेका छन् । उनीसहित संगठनबाट विपिन विक, दिनेश कुमार अएर र चन्दन सुनारले सभापतिमा आकांक्षा देखाएका छन् । उनीहरु भन्छन्, “सम्भावितउम्मेदवार हामी चार जना छाँै । अब संगठनले जसलाई भन्छ, उही उठ्ने हो ।”
ऋखिल क्रान्तिकारीले परीक्षाको ढिला सुस्ती, शैक्षिक तालिका नियमित गर्ने, छात्रवृत्ति, घट्दो शैक्षिक गुणस्तर, व्यवहारिक र प्रविधिमैत्री शिक्षा जस्ता पुरानै विषयलाई चुनावी मुद्दा बनाएको छ । एमाले निकट अनेरास्ववियुबाट स्ववियु सभापतिका लागि प्रशान्त भण्डारी, प्रकाश विष्ट, दीपक सिंह ठकुरी, जनक कार्की र शिला भट्टराई आकांक्षी रहेका छन् । अनेरास्ववियु त्रिवि इन्चार्ज मदन विष्टले २८ वर्षको उमेर हदबन्दीको कारणले स्ववियु चुनावमा नयाँ उम्मेदवारहरु उठ्न लागेको जानकारी दिए ।
विद्यालयको हकहितको लागि २१ औँ शताब्दीको प्रविधिमैत्रीशिक्षा, पेपरलेस प्रविधि कार्यान्वयन गर्ने, प्रश्नपत्र आउट गर्ने तथा बल्खु (त्रिविको प्रशासनिक केन्द्र)को चरम लापरबाहीको सम्बोधन गर्ने, समय सापेक्ष पाठ्यक्रम बनाउने, शैक्षिक तालिका अपनाउने लगायत मुद्दा चुनावी एजेण्डा रहेको विष्टले बताए ।
नेविसंघबाट सभापतिको उम्मेदवारमा चार आकांक्षी रहेको विद्यार्थी नेता सम्झना केसीले जानकारी दिइन् । विष्णुबहादुर बडैला, स्यामराज ओझा, राजेश श्रेष्ठ र मिलन बस्नेतको नाम चर्चा रहेको छ । उनी भन्छिन्, “उमेर हदबन्दीको कारणले मैले उठ्न पाइन । २०७४ मा चुनाव नै भएन । त्यसैले धेरै नयाँ अनुहारहरु चुनावमा देख्नुहुनेछ ।”
स्वार्थका लागि शैक्षिक संस्था बन्द
पेट्रोलियम पद्धार्थमा मूल्यवृद्धि हुनेबित्तिकै सडकमा ओर्लने विद्यार्थी संगठन त्रिविमा कुनै विद्यार्थी संगठनले आफ्नो स्वार्थ पूर्तिका लागि शैक्षिक कार्यालय बन्द गर्दा मौन बस्ने गर्छ । पछिल्ला दुई वर्षमा त्रिविका प्रमुख कार्यालयहरु दुई सयभन्दा बढी पटक बन्द भए । जसमा नेविसंघको एउटा गुटले त्रिविको डीन कार्यालय र उपकुलपति कार्यालयमा महिनौँ तालाबन्दी गरेको थियो ।
अन्ततः फागुन २०७८ मा दिक्क भएर उपकुलपतिको कार्यालय परिसरमा प्राध्यापकहरुले प्लेकार्ड बोकेर १५ मिनेट मौन विरोध प्रदर्शन गरेका थिए । शैक्षिक कार्यालय बन्द हुँदा विद्यार्थीले अनेकौँ सास्ती पाए । त्यसको असर दीर्घ कालीन रुपमा देखिने नै छ । तर, विद्यार्थीको अधिकारको नाममा राजनीति गर्ने विद्यार्थी संगठन विज्ञप्ति प्रकाशित गर्ने कर्मकाण्डमा मात्रै सीमित रह्यो ।
यति मात्र होइन, विद्यार्थीसँग प्रत्यक्ष जोडिने शैक्षिक मुद्दामा विद्यार्थी संगठनका नेताहरु मौन रहदै आएका छन् । यसबारेमा जिज्ञासा राख्दा अखिल क्रान्तिकारीका वर्तमान सभापति समेत रहेका भट्ट भन्छन्, “विश्वविद्यालयमा समस्या छ । त्रिविको नियमावली जसलाई हामी रातो पुस्तक भन्छौँ, त्यसलाई संशोधन नगरेसम्म त्रिविको प्रणाली सुध्रिदैन ।” उनले आफ्नो संगठन सेमेष्टर प्रणालीको नियम पूर्ण रुपमा कार्यान्वय नगराउने दाबी गरेका छन् । भन्छन्, “खासगरी, ६/६ महिनामा हुने परीक्षालाई नियमित गर्ने, फेल भएका विषयगत परीषा तीन महिनामा नै गर्ने, सेवा आयोगमा शिक्षक तथा कर्मचारीको विज्ञापन ६/६ महिनामा खुलाउने जस्ता कामहरु हामी गर्नेछौँ ।”
त्रिवि र यसका आंगिक क्याम्पसहरुमा पूर्णकालीन प्राध्यापकहरुको संख्या ज्यादै न्यून छ । जसले गर्दा त्रिविको शिक्षाको गुणस्तर खस्किदै छ । त्यसमाथि अनधिकृत रुपमा प्राध्यापकले नै बौद्धिक चोरी गर्ने जस्ता गतिविधिले त्रिविको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा छवि धुमिलिदै गएको छ । त्रिविका पदाधिकारीहरुमा राजनीतिक नियुक्ति र त्रिविको कुलपति प्रधानमन्त्री रहने व्यवस्था रहेसम्म त्रिविमा समस्या रही रहने भट्टको दाबी छ ।
यस्तै, थेसिसको नाममा छात्राहरुमाथि हुने गरेको यौन शोषणले पनि त्रिवि बदनाम हुने गरेको छ । प्राध्यापक कृष्णबहादुर भट्टचनले थेसिसको बहानामा छात्रा विद्यार्थीलाई विश्वविद्यालयको परिसरभन्दा बाहिर बोलाई संवेदनशील अंगमा छुने, यौन तुष्टि पूरा गर्न सिकाइएका लेखहरु थेसिसको लागि पढ्न पर्ने सन्दर्भ सामाग्रीको रुपमा राख्ने गरेको भन्दै विस्तृत घटना दि काठमाण्डु पोष्टले केहीवर्षअघि प्रकाशित गरेको थियो ।
यस्तै, अर्थशास्त्रका प्राध्यापक जगदीश मुर्ति कोइरालाले विद्यार्थीलाई यौन शोषण गरेको भन्दै उनीमाथि त त्रिविमा उजुरी नै परेको थियो । तर अहिले यस्ता समस्या सम्बोधनको लागि त्रिविको केन्द्रीय कार्यालयमा फोकल पर्सन राखिएको छ । त्यसले के कति प्रभावकारी काम गर्न सकेको छ भन्नेमा विद्यार्थी नेताहरु नै शंका गर्छन् ।
अनेरास्ववियुका नेता विष्ट विश्वविद्यालयमा समस्या रहनुमा प्राध्यापक र कर्मचारीको लागि बनेको कानुनमै खोट देख्छन् । भन्छन्, “यो स्वायत्त शैक्षिक संस्था हो । तर यसका नियम र कानुनमा समस्या छ ।”
विद्यार्थी संगठन कति आवश्यक ?
विद्यार्थी नेतालाई राजनीति लागेपनि विश्वविद्यालयका विद्यार्थीलाई भने स्ववियु निर्वाचनले त्यति असर गरेको देखिन्न । त्रिविमा राजनीतिशास्त्रमा चौथो सेमेष्टर दिएर बसेका २७ वर्षीय अभिषेक अधिकारी राजनीतिक पार्टीका भातृ संगठन रहेका विद्यार्थी संगठन विश्वविद्यालयमा आवश्यक नरहेको बताउँछन् । भन्छन्, “विश्वविद्यालयमा विद्यार्थी संगठनको नाममा यसरी राजनीतिक दलको अभ्यास हुनु अप्राकृतिक हो । बाहिरको विश्वविद्यालयमा यस्तो हुँदैन ।”
उनकाअनुसार विद्यार्थी राजनीति राम्रो होइन । राजनीतिक स्थायित्व हुँदा यस्तो संगठनको कुनै औचित्य पनि रहँदैन । “मआफैँ राजनीतिशास्त्रको विद्यार्थी । विश्वविद्यालयमा पार्टीले कब्जा गरेपछि यो झनै तल खस्दै गएको छ,” उनले भने, “यहाँ भएका युवा नेताको कुनै रणनीति छैन, गहिरो अध्ययन, राष्ट्रिय स्वार्थ र सुरक्षाबारे ज्ञान छैन । म तपाईलाई दाबीका साथ भन्न सक्छु, हामीसँग उहाँहरु बसेर बहससम्म गर्न सक्नुहुन्न । उहाँहरुलाई नेता के हो ? नेताको काम के हो केही थाहा छैन ।”
निर्वाचनको प्रक्रिया कस्तो छ ?
निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार त्रिविले २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागेको छ । निर्वाचनमा १८ चैत २०५१ जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउने छन् ।
निर्वाचनका लागि त्रिविले २२ माघमा नै स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका पारित गरेको थियो । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । स्ववियु कार्यसमिति २ सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, २ सय एकदेखि १ हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, १ हजार एकदेखि ३ हजारसम्म भए १९ जनाको र ३ हजार एकदेखि ५ हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ ।
त्रिविमा स्ववियु निर्वाचन २०१८/०१९ सालदेखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो । २०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै आएकोमा २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुँदै आएको थियो । त्रिविमा २०७३ सालदेखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन भएको थियो । २०७३ सालमा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो ।

