लाइसेन्स नवीकरण प्रत्येक पाँच वर्षमा गर्नुपर्ने तर आयु २० वर्ष मात्रै हुने भएकाले अब सरकारले १० वर्षमा नवीकरण गर्नेगरी ऐनमा नै व्यवस्था गरेर चाँडै लागू गर्न लागेको उनले बताए । ‘स्मार्ट लाइसेन्सको आयु २० वर्ष छ । नवीकरण पाँच/पाँच वर्षमा गर्नुपर्ने भएकाले झन्झटिलो छ,’ उनले भने, ‘लाइसेन्स १० वर्षमा नवीकरण गर्नेगरी ऐनमा नै व्यवस्था गरेर अघि बढाएका छौं । केही समयपछि लागू हुन्छ । १०–१० वर्षमा नवीकरण गर्ने व्यवस्था गर्छौँ ।’
सरकारको स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने काम प्रमुख प्राथमिकतामा रहेको उनको भनाइ छ । मन्त्री ज्वालाले यातायात क्षेत्रमा सबैभन्दा बढी गुनासो रहेको बताउँदै लाइसेन्सका समस्या समाधान गर्न सरकारले कार्ययोजना बनाएर अघि बढेको उनले बताए ।
सरकारले सवारी चालक अनुमति पत्रका लागि ट्रायल परीक्षा पास गरेर लामो समयसम्म स्मार्ट लाइसेन्स कुरेर बसेकाहरूको समस्या सात महिनाभित्र अन्त्य गर्ने योजना बनाएको सुनाए ।
सवारी साधनमा इम्बोस्ड नम्बरका विषयमा अंग्रेजीमा मात्रै प्रिन्ट भएकोमा केही आलोचना र गुनासोहरू आएको भन्दै मन्त्रिपरिषद्बाट निर्णय गरेर अंग्रेजी, नेपाली र नेपाली र अंग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको बताए ।

