काठमाडौँ- बिहीबार सुरु भएको एमाले केन्द्रीय कमिटीको पाँचौं बैठक तीन दिनसम्म जारी हुने भएको छ।
बिहान १० बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको छ।
एमाले विधानमा केन्द्रीय कमिटीको बैठक ६–६ महिनामा बस्ने व्यवस्था भए पनि ९ महिना अर्थात् भदौपछि पहिलो पटक बैठक बसेको हो।
एमालेले ५ फागुनबाट सुरु गरेको ‘मिसन ग्रासरुट’को समीक्षा प्रतिवेदन पनि प्रदेश कमिटीले पेस गर्नेछन्। भदौयता ५ मंसिरमा संघीय तथा प्रदेशसभा निर्वाचन र १० वैशाखमा विभिन्न स्थानमा रिक्त प्रतिनिधिसभा उपचुनाव भइसकेको छ। एमाले बैठकले त्यसलाई पनि समीक्षामा राखेर छलफल गर्ने बुझिएको छ।
एमाले नेतृत्वमा कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार बने पनि कोसीबाहेकका प्रदेशमा ढलेको छ।
एमाले केन्द्रीय कमिटी ३३५ सदस्यीय छ। प्रदेश कमिटीका अध्यक्ष पनि पदेन सदस्यका हैसियतले बैठकमा सहभागी छन्।









