काठमाडौं। प्रहरीको फरार सूचीमा रहेका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको बिरामी बिदाको निवेदन दर्ता गराउन जाने व्यक्तिको प्रहरीले खोजी थालेको छ।
सङ्घीय संसद् सचिवालयमा सांसद रायमाझीका तर्फबाट बिदा निवेदन लिएर उपस्थित भएका व्यक्ति पहिचानको प्रक्रिया प्रहरीले अघि बढाएको हो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको योजनाकारका रूपमा प्रहरीको फरार सूचीमा रहेका सांसद रायमाझीको वैशाख २५ गते बिरामी बिदा सचिवालयमा पेस भएको थियो तर बिदा निवेदन औपचारिक रूपमा दर्ता भएको छैन।
फरार सूचीमा रहनुभएका रायमाझीको खोजीमा रहेको प्रहरीले उनको बिदा निवेदन ल्याउने व्यक्ति पहिचानका लागि संसद् सचिवालयलाई आग्रह गरेको थियो। सचिवालयले भने प्रहरीलाई वैशाख २५ गतेको सिसिटिभी फुटेज उपलब्ध गराएको छ।
निवेदन दर्ताका लागि सभामुखको कार्यकक्ष र निजी सचिवालय आसपासको सम्पूर्ण सिसिटिभी फुटेजको विवरण संसद् सचिवालयले प्रहरीलाई उपलब्ध गराएको छ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले व्यक्ति पहिचानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आग्रह गरेको बताए । उनले भने, “पत्र बुझाउन आउने व्यक्तिको पहिचानका लागि सिसिटिभी फुटेज माग गरेको हो, हामीले पठाइदिएका छौँ।”
सांसद रायमाझीको बिदा निवेदन सभामुखलाई सम्बोधन गरेर आएको थियो। बिदाबारे सभामुखलाई जानकारी गराइएपछि कार्यव्यवस्था परामर्श शाखामा पठाइएको थियो तर हस्ताक्षर यकिनका लागि भन्दै औपचारिक रूपमा दर्ताको प्रक्रिया अघि बढेको छैन। सदस्यहरूको बिदा निवेदन अधिवेशन अन्त्यको दिनको बैठकमा राख्ने अभ्यास छ। सो अनुसार अहिले दर्ता भए पनि निर्णय प्रक्रियामा भने जाने छैन।
संसद्को चालू अधिवेशन वैशाख २४ गतेबाट प्रारम्भ भएको हो। अधिवेशन प्रारम्भअघि नै वैशाख २० गते सांसद रायमाझीलाई पक्राउको अनुमति प्रहरीले जिल्ला अदालतबाट लिएपछि उनी फरार छन् । चालु अधिवेशनमा चार वटा बैठक बसिसकेका छन्। संवैधानिक व्यवस्था अनुसार बिनासूचना १० वटा बैठकमा अनुपस्थित भएमा सांसदको पद रिक्त हुने व्यवस्था छ। रायमाझी बिनासूचना चार वटा बैठकमा अनुपस्थित भएका छन् ।
वैशाख २० मा गृह जिल्लाको कार्यक्रममा सहभागी हुनुभएका बेला पुर्जी जारी भएको थियो। काठमाडौँ फर्कने बताएका रायमाझी त्यसपछि सम्पर्कविहीन भएका थिए। नेकपा (एमाले)का केन्द्रीय सचिव रायमाझीलाई उक्त प्रकरणमा फरार रहेपछि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको छ।

