चितवन–पूर्व– पश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हँुदा ३१ जना घाइते भएका छन्। कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ख२५६१ नम्बरको बस आफैं अनियन्त्रित भई गए राती दुर्घटनामा परेको हो।
खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ। बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो। दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य छ।

