काठमाडौँ‚ दाङ‚ विराटनगर‚ पोखरा — फूल र खादा बोकेकी एक महिला भीड छिचोलेर कथित ज्योतिषी सीमान्त केसीनेर पुग्छिन् । सुरुमा उनलाई हेलमेट खोल्न लगाइन्छ ।

केसीले भिडियो खिच्न सहयोगीलाई निर्देशन दिँदै महिलातिर फर्किएर भन्छन्, ‘के भएको थियो, सबै भन्नुहोला उतापट्टि (भिडियो खिच्नेपट्टि) फर्किएर !’ उनी झोलाबाट अस्पतालका ‘ओपीडी कार्ड’ निकाल्छिन् र अलमलमा पर्छिन्, ‘केके भन्ने भन्नु न !’ केसी सिकाउँछन्, ‘तपाईंलाई कहिलेदेखि के भएको, अलि साह्रो भन्नु !’
सामाखुसीमा बस्दै आएकी उनी घर गोरखा बताउँछिन् । धेरै अस्पताल चहार्दा पनि स्तनको घाउ निको नभएपछि केसीलाई एकपटक देखाउँदैमा निको भएकाले सम्मान गर्न आएको भन्छिन् । राजधानीका विभिन्न अस्पताल र क्लिनिकका ओपीडी कार्ड देखाउँछिन् । ‘औषधि खाँदाखाँदा केही सीप लागेन । क्यान्सर पनि होइन, पिप मात्रै आइराख्ने, काटेर फ्याल्नुपर्छ भन्नुभएको थियो । यहाँ मंगलबार आएँ, फलोअपमा जाँदा डाक्टरले आधा निको भइसक्यो भने । निको भएर हजुर गुरुलाई सम्मान गर्न आएको ।’ यति भनेर केसीलाई खादा लगाइदिन्छिन् । फूलको गुच्छा दिन्छिन् । वरपर भेला भएका सबैलै ताली पिट्छन् ।
३ मिनेट १५ सेकेन्डको यो भिडियो केसीले शनिबार आफ्नो टिकटकमा अपलोड गरेका छन् । सोमबार दिउँसोसम्म ६ लाख ५४ हजारले हेरेका छन्, ३२ हजार ५ सयले लाइक गरेका छन्, १ हजार १ सय ३३ कमेन्ट छन् । ‘उहाँले पुनर्जीवन पाउनुभाछ,’ केसी भन्छन्, ‘विश्वास गरेर आउनुहोस्, सबैको उपचार हुन्छ । म तपाईंलाई निको पार्न कोसिस गर्छु ।’ हात र अनुहार हेरेर, शरीर छामेर रोग निको पार्ने भन्दै टिकटकलगायत सामाजिक सञ्जालबाट भ्रम फैलाइरहेका केसीको यस भिडियोमा अरू थुप्रै मानिस देखिन्छन् । टिकटक, युट्युबतिर आफ्नो भिडियो हेरेर उपचार गर्न आउने गरेको उनको भनाइ छ । उनीकहाँ पुग्ने धेरैजसो स्तन वा पाठेघरमा समस्या भएका, रगत जाने, सेतो पानी बग्ने, मुटु/दमका रोगी, मेरुदण्ड भाँचिएका, प्यारालाइसिस भएका, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगी छन् ।
केसीले तारकेश्वर नगरपालिका–७ मनमैजुस्थित आशापुरी चोकसँगैको एक घरमा ‘अलौकिक मनोवैज्ञानिक शास्त्री ज्योतिष प्रालि’ सञ्चालन गरेका बसेका थिए । तर, भीडभाड र होहल्ला गरेको भन्दै स्थानीयले गुनासो गरेपछि शुक्रबार बन्द गराइएको बालाजु प्रहरी वृत्तका डीएसपी मनोजित कुँवरले बताए । उनीकहाँ हरेक दिन चार सयजति मान्छे जम्मा हुन्थे भने प्रतिव्यक्ति एक हजारका दरले असुली गर्थे । त्यहाँ प्रहरीले बन्द गराए पनि केसीले अन्धविश्वास र भ्रम फैलाएर स्वास्थ्य उपचारका नाममा शुल्क उठाउँदै ठग्ने क्रम जारी राखेका छन् ।
जनस्वास्थ्यविद् शरद वन्त केसीको गतिविधिले सोझासाझा नागरिकमाथि आर्थिक शोषण र वास्तविक बिरामीको स्वास्थ्य समस्या जटिलतातर्फ धकेलिने खतरा रहेको बताउँछन् । टिकटकमा मात्रै नभई टीभीमा समेत आउने यस्ता विज्ञापनको आधिकारिकता नहुने उनको भनाइ छ । लक्षणजन्य रोग लागेको भए विशेषज्ञ उपचारबिना निको नै नहुने उनले बताए । ‘सर्पले टोकेको झारफुक गरेर निको पार्छ भन्छन् तर सबै सर्प विषालु हुन्छन् भन्ने होइन । विष नभएकोले टोकेको रहेछ भने निको हुन्छ, झारफुक गर्नै पर्दैन,’ उनी भन्छन्, ‘यस्तै गरी निको पारेको ठानेर गलत फाइदा उठाउने प्रवृत्ति सही होइन, रोग लागेको छ भने सही उपचार नपाए बिरामीमा जटिलता बढ्छ ।’ स्वास्थ्यमाथि नै खेलबाड गरिरहेकाले सम्बन्धित निकायले सिधै हस्तक्षेप गर्नुपर्ने उनले बताए ।
केसी आइतबार तुलसीपुर उपमहानगरपालिका–६ स्थित त्रिसिद्धेश्वरी मन्दिरमा पुगेका थिए । त्यहाँ ३ सय जनाभन्दा बढी भेला गरेर बिहानैदेखि उपचारका नाममा भ्रम फैलाइरहेका बेला प्रहरीले रोक लगायो । प्रशासनको अनुमति नलिई उपचारका नाममा भीडभाड गरेको पाइएपछि रोक लगाएको निमित्त जिल्ला प्रहरी प्रमुख डीएसपी राजनकुमार गौतमले बताए । ‘प्रशासनलाई कुनै जानकारी नदिई भीड गरेको देखियो,’ उनले भने, ‘उपचारका नाममा भ्रम फैलाउने पाएपछि हामीले रोकेका छौं ।’
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्ल केसीले प्रतिव्यक्ति एक हजार रुपैयाँ उठाएको पाइएको बताए । उपचारका लागि भन्दै सल्यान, रोल्पा र बाँकेबाट समेत बिरामी आएका थिए । ‘हात हेरेकै भरमा उपचार हुन्छ भने किन नगर्ने भन्दै सयौं मान्छे भ्रमको पछि लागेको देखियो,’ मल्लले भने, ‘चेतना कमीको फाइदा उठाउँदै यसरी भ्रम फैलाउन पाइँदैन । मान्छेको अनुहार हेरेकै भरमा कसरी उपचार हुन्छ ?’ तुलसीपुरमा रोक लगाएपछि केसी बाँकेको नेपालगन्जतर्फ गएका थिए । ‘केही दिनदेखि प्रचार गरेर बिरामी जम्मा गरेको पाइयो । उपचारका नाममा भ्रम फैलाएको देखिन्छ,’ डीएसपी मल्लले भने, ‘काठमाडौंलगायत विभिन्न ठाउँमा प्रहरीले हटाउँदै आएको थियो, यहाँ पनि रोक्यौं ।’
प्रशासनको अनुमतिबिना गलत काम गरेको पाएपछि रोकेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । ‘उपचारको भ्रामक हल्ला फैलाएपछि रोक्न आदेश दिइएको हो,’ उनले कान्तिपुरसँग भने ।
पोखरामा समातिएका थिए केसी
केसी गत गत फागुन तेस्रो साता पोखरा पुगेका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई ठूलै स्वागत गरिएको थियो । फागुन २२ बाट पोखरा–१७ पावरहाउसको एक रिसोर्टमा ‘स्वास्थ्य शिविर’ चलाए । उनको सुरक्षार्थ दुई जना प्रहरीसमेत खटिएका थिए । टिकटक लाइभबाटै उपचार गरिदिने दाबी गर्ने उनलाई भेट्न मिर्गौला, मुटुरोगी, मधुमेह, पक्षाघातका बिरामीसमेत पुगेका थिए । उनलाई पोखरा पुर्याउने चाँजोपाँजो पोखरा उद्योग वाणिज्य संघका सदस्य भरत केसीले मिलाएका थिए ।
फागुन २३ मा जिल्ला प्रशासन, प्रहरी, स्वास्थ्य कार्यालयको टोलीले छापा मारेर उनको साथबाट १ लाख २३ हजार रुपैयाँ बरामद गरेको थियो । दुवैलाई कास्की प्रशासनले नियन्त्रणमा लियो । उनीहरूलाई सोही दिन हाजिरी जमानीमा छाडियो । तीन दिन चल्ने भनिएको शिविर बन्द भयो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले गैरकानुनी रूपमा शिविर सञ्चालन भइरहेको उजुरी परेपछि छापा मारेर रकम जफत गरेको बताए । ‘त्यहाँ रकम लिने गरेको भेटियो । तर, कुनै रसिद वा कागजात भने देखिएन । १ सय २३ जनाबाट एक हजार रुपैयाँका दरले रकम लिएको रहेछ,’ ढकालले भने, ‘उक्त कार्य गैरकानुनी ठहरिएको देखिएपछि आयोजक केसीसहितलाई नियन्त्रणमा लिएका थियौं ।’ पोखराको शिविर रोकिए पनि उनले विभिन्न होटलमा बसेर बिरामीसँग भेटघाट गरी रकम असुल्ने क्रम भने जारी थियो । त्यसअघि उनले विराटनगर र सुर्खेतमा त्यस्तै शिविर चलाएका थिए ।
सर्वसाधारणलाई ठग्दै आएका केसीलाई प्रहरी, प्रशासन, व्यवसायी र नेताहरूकै आडभरोसा रहेको उनका टिकटक सामग्रीले देखाउँछन् । उनी पोखरा गएका बेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गरिएको थियो । उनलाई लैजान पोखरा उद्योग वाणिज्य संघका सदस्य भरत केसी नै संलग्न देखिन्छन् । चैत १ मा गण्डकी प्रदेशका पूर्वमन्त्री बिन्दुकुमार थापासँग पोखरास्थित निवासमा केसीको भेट भएको उनकै टिकटकले देखाउँछ । यस्तै, सुर्खेत विमानस्थलमा कांग्रेस उपसभापति तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्कासँगै केसीले विशिष्ट कक्ष प्रयोग गरेको तस्बिर सार्वजनिक भएको छ ।

मनमैजुमा ज्योतिषी केन्द्र बन्द गराएकै दिन कांग्रेसका वाग्मती प्रदेश सांसद जगदीशनरसिंह केसीले खादा ओडाएर, फलफूल दिएर स्वागत गरिरहेको भिडियो देखिन्छ । ‘अरु कसैले खादा ओडाइदिँदा पुगेको थिएँ होला, त्यसमा मेरो क्रियाप्रतिक्रिया केही छैन,’ उनले भने, ‘मान्छेहरूको आ–आफ्नो विश्वास हुन सक्छ, मैले कसैलाई अन्धविश्वास गर्ने, विश्वास गर्ने भन्ने पनि छैन ।’
उपचार पद्धतिका बारे केसीले फैलाएको अफवाहका विरुद्ध नेपाल चिकित्सक संघले शुक्रबार विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको छ । ‘यस प्रकारका अस्वाभाविक र वैज्ञानिक रूपमा पुष्टि हुन नसकेको कुरालाई अविलम्ब बन्द गरी त्यस्ता कार्यमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न सरकार तथा सरोकारवालासँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । केसीलाई अनुसन्धान र कारबाही गर्नमा भने प्रहरीले चासो लिएको छैन । कुनै उजुरी नआएका कारण रोक लगाउनेबाहेक थप कारबाही अघि बढाउन नसकिएको बालाजु प्रहरी वृत्तका डीएसपी मनोजित कुँवरले बताए । ‘शान्ति सुरक्षासँग जोडिएकाले कि भीडभाड व्यवस्थापन गर्नुस् नत्र बन्द गर्नुस् भनेका हौं,’ उनले भने, ‘उहाँले जे गर्दै हिँड्नुभएको छ, अन्धविश्वास, धार्मिक परम्परासँग जोडिने भयो ।’
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल भने मान्छेको संवेदनासँग खेलेर गरिरहेको गतिविधि ‘मेडिकल साइन्स’ ले नै अनुमति नदिने हुँदा अनुसन्धान तथा कारबाहीको दायरामा ल्याउन प्रहरीले उजुरी कुर्नै नपर्ने बताउँछन् । ‘महँगो उपचार गर्न सर्वसाधारणको पहुँच पुग्दैन, त्यसो हुँदा उनीहरू यस्तै फन्डामा पर्ने हो,’ उनले भने, ‘यसलाई रोक्नुपर्छ नत्र आधुनिक युगमा पनि सबैजसो यस्तै अन्धविश्वासमा लागे, कसैको ज्यान गयो, ठगियो वा हानि भयो भने झन् ठूलो समस्या हुन्छ ।’
को हुन् केसी ?
आफूलाई अलौकिक गुरु सीमान्त केसी बताउने उनको वास्तविक नाम भरत भट्टराई हो । मोरङको पथरी शनिश्चरे नगरपालिका–७ लामी टोलका उनी अढाई दशकअघि पथरीको बुद्ध चोकमा ओम ढकालको टेलिफोन पसल (पीसीओ) मा काम गर्थे । चाम्लिङ राई, लिम्बू, मगर, गुरुङलगायतका भाषा राम्रोसँग बोल्ने उनले पसलमा आउने सोझासिधा महिलालाई ठग्ने गरेको छिमेकी अर्जुन काफ्लेले बताए । भट्टराई आफूलाई अंग्रेजीमा स्नातक र १७ भाषाको ज्ञाता भएको दाबी गर्थे । सात वर्ष पत्रकारिता गरेका उनले आधा दर्जन नाटक पनि गरेका उनलाई चिन्नेहरू बताउँछन् ।
२०६३ सालमा कुबेत गएका उनी तीन वर्षमै फर्केर पत्रकारितालाई निरन्तरता दिए । आफैं सम्पादक भई पथरीबाट क्रान्तिपुर साप्ताहिक पत्रिका चलाए । अर्का छिमेकी गोपाल काफ्लेका अनुसार युरोप पठाइदिने भन्दै उनले स्थानीय दर्जनौं युवाबाट राहदानीसहित कम्तीमा पाँचदेखि १० लाख रुपैयाँसम्म असुलेका थिए । ‘केहीलाई विदेश पनि पठाए तर जान नपाएका अधिकांश अहिले बिचल्लीमा छन्,’ उनले भने, ‘त्यसै क्रममा हाल मलेसिया रहेका पदम जोगीले प्रहरीमा उजुरी दिएपछि उनी एक वर्षसम्म कारागारमा बसे ।’ रिहा भएपछि केसी (भट्टराई) सम्पर्कविहीन थिए । लामो समयपछि अचानक चामत्कारिक शैलीमा सार्वजनिक भएका उनीबाट धेरै जना ठगिएको छिमेकी तथा वडा ७ का अध्यक्ष उद्धब बस्नेत बताउँछन् । ‘वैदेशिक रोजगारीका नाममा ठगिएका युवायुवती दिनहुँ उसको घर घेर्न आउँछन्,’ उनले भने ।
टिकटकमा भाइरल भएपछि वैशाख २७ देखि उनको घरमा ताला लागेको छ । बाआमा कहाँ छन् भन्ने स्थानीयलाई जानकारी छैन । भरतका बुबा सामान्य धामीझाँक्रीको काम गर्थे । हाल सहज रूपमा हिँडडुल गर्न सक्दैनन् । ‘हिजोअस्तिसम्म यहीं लुखुरलुखुर हिँड्ने भरत अहिले अचानक सीमान्त गुरुका नाममा भाइरल भएको देख्दा चकित छु,’ छिमेकी रोशन सुब्बाले भने, ‘बिरामीको आँखामा आँखा जुधाएर दीर्घ र प्राणघातकलगायत रोगको निदान गर्ने भिडियो टिकटकमा राखेको देखियो । उनकै बाबु लामो समयदेखि दीर्घरोगी छन् भने आमाको पनि हालत उस्तै छ । त्यस्तो अलौकिक शक्ति उनमा हुन्थ्यो भने आफ्नै आमाबुबा स्वस्थ बनाउनुपर्ने नि ।’
(आज को यो समाचार विद्या राई, दुर्गालाल केसी, विनोद भण्डारी, दीपक परियार ले कान्तिपुरमा लेखेका छन्)
