उमेरले म भन्दा जुनियर भएपनि मेरो एउटा असाध्यै मिल्ने साथी छ। ५ वर्ष देखि फ्रान्समा कार्यरत । निकै आकर्षक आम्दानी । अविवाहीत । आरिस लाग्दो जीवनशैली । जीवनशैली मात्र नभइ उसको हरेक शैली आकर्षक र आरिस लाग्दो । उसले प्रयोग गर्ने हरेक सामान ( लुगाफाटा, ग्याजेट आदि) सबै ब्राण्डेड । जीऊडाल पनि निकै आकर्षक । ऊ आवरणले मात्र होइन स्वभावैले पनि निकै भद्र ।ऊ हरेक दुई वर्षमा डेढ महिने विदामा घर आउँथ्यो । सधैं कुनै न कुनै बहानामा विवाहबाट उम्किरहने ऊ, पछिल्लो पटक घर आउँदा भने, परिवार र आफन्तको चर्को दबाव टार्न सक्ने अवस्था रहेन । किनकि बिहेको उमेर ‘घर्कँदो’ जो थियो।
बिहेका लागि ‘केटी हेर्ने’ कुरा भो । फ्रान्समा जागिरे, अति सम्पन्न केटा उसैमाथि निकै भद्र र आकर्षक पनि । उसलाई छोरि दिन चाहने घर खान्दान धेरै थिए । बिहेका लागि आफन्तले दर्जनभर केटिहरूका नाम र विवरण सहितको लामो लिस्ट नै तयार गरेका रहेछन् । एक एक गरि लिस्टमा भएका सब केटी हेरेर जो मन पर्छ रोज्न पाउने गज्जबको सुविधा उसलाई प्राप्त भो ।
घर परिवारको खुसि र सामाजिक संस्कार अनुरूप बाध्य भएर केटि हेर्न जान परेको स्पष्टिकरणबाट केही प्रगतिशील देखिन खोजेपनि उसले पाएको त्यो राजसी महत्वलाई उसले निकै इन्जोय गरिरहेको प्रष्ट देखिन्थ्यो ।
केटी हेर्ने अभियानको पुर्वसन्ध्यामा ऊ र हामी पाँच-सात जना साथीहरूको सन्ध्याकालीन जमघट जुर्यो । सबै साथीहरूले आ-आफ्ना अनुभव र राय सुझाव दिने क्रम धेरै बेर नै चल्यो । साथीहरू आ- आफुले बिहे अघि ‘हेरेका’ केटीहरूको संख्या सगौरव घोषणा गर्दैथिए ।
उसले ३-४ वटा फेसबुक प्रोफाइल देखाउँदै को ठीक होला भनि साथीहरूसंग राय माग्ने क्रममा मलाई पनि सोध्यो । धेरैबेर देखि साथीहरूको गौरव गाथाले दिक्क भएको म अब भने नबोलिरहन सकिन ।
म शायद अलि बढि नै चिढिएको थिएँ साथीहरूका कुराले । त्यसैले पनि मैले अलि अप्रसन्न भावमा, भडास् नै पोख्ने शैलीमा आफ्ना प्रश्न तेर्साएँ ।
“उसोभए तिमी भोलि केटी हेर्न जाने, हैन त?”, मैले सोधेँ।
“हो यार !”, उसले जवाफ फर्काउँदै थप्यो, “धेरै जना छन् यार लिस्टमा। अबको ४-५ दिन व्यस्त हुन्छु । के गर्नु, घरपरिवार, आफन्त सबैको मन राख्दिनै पर्यो ।”
मैले प्रश्न थपेँ, “अनि केटी हेर्न गएपछि के हेर्ने हो त केटीको ?’ मैले अझ प्रष्ट्याउँदै भनेँ, ‘आइ मिन, पहिलोपटकको १५ मिनटको छोटो भेटमा केटीले के देखाउँछ तिमीलाई या तिमीले के हेर्न भ्याउँछौ जो हेरेपछि तिमी उसलाई सेलेक्ट या रिजेक्ट गर्ने निर्णयमा सजिलै पुग्नेछौ त?”
ऊ अक्मकियो ।
मैले अझै खोतलेँ ।
“तिमी हेर्न आउने थाहा पाएर तयारि अवस्थामा बसेकी केटी त पक्कै धेरै कुरा सिकाएर/ सम्झाएर बसाइएकी हुन सक्छिन् । जस्तै, यसो गर्नु, उसो गर्नु, यसरि बोल्नु आदि । जे उनी वास्तविक रूपमा हुन् त्यो त तिमीलाई पक्कै देखाउने छैनिन् । समाजले जे कुरालाई आदर्श, लक्षण र गुण मान्छ त्यही देखाउन उनलाई तयार गरि राखिएको हुनसक्ने सम्भावना प्रबल हुन्छ । तिमी पनि उनलाई हेर्न जाँदा सामान्य अवस्थामा भन्दा निकै भलाद्मी बनेर जाने नै भयौ। यस्तो अवस्थामा उनको वास्तविक स्वभाव र लक्षण जे हो त्यो त तिमीले पक्कै भेउ पाउन सक्ने छैनौ, न उनले नै भेउ पाउने छिन् । अनि के चाहीँ हेर्छौ त केटी हेर्दा? के चाहीँ देखिने अपेक्षा गरेका छौ त?”
अघिसम्म अक्मकिएको साथी यसपालि त अल्मलियो पनि। अर्थात् केही बोल्नै सकेन ।
उसको जवाफ धेरैबेर नकुरि म फेरि सुरू भएँ, “ल छोड यी सब कुरा । मलाई अब यो भन कि, खासमा तिमीले चाहेको के हो ? खोजेको के हो ? तिम्रा न्यूनतम अपेक्षा र शर्तहरू के के हुन् त ? केटी हेर्दा के के कुरा देखिन पर्ने हुन् त ? गोरो वर्ण ? उँचो कद ? छिनेको कम्मर? मिलेको जीऊडाल ? लामो, कालो, कर्ली, ब्राउन, स्ट्रेट कपाल ? मोती जस्तो दाँत ? या भर्जिनीटि ?”
मेरा प्रश्नहरूबाट ऊ केही हतास् देखियो । कुनैपनि प्रश्नको सोझो जवाफ दिन आँटेन उसले । फेरि पनि मधुरो स्वरमा प्रतिवाद गर्यो ।
“त्यस्तो होइन यार । बाउआमा र आफन्तहरूको खुसि र आदेश पनि त मान्नु पर्यो नि ।”
“हाम्रो परम्परा हो नि यो त”, अर्को साथी बीचमा कड्कीँदै थप्यो, “फेरि बाउआमाको मन राख्दिन पनि यति त गर्नुपर्यो नि यार”।
मैले शान्त हुँदै भनेँ, ” बाउआमा त चाहन्छन् कि आफ्नो सन्तानले राम्रो भन्दा राम्रो जीवन साथी भेटोस् । त्यसैले आफ्ना बलबुता र बुद्धिले भ्याएजति गर्ने नै भए । हाम्रो आफ्नो विचार, शैली, खुसि र प्राथमिकता त हामीले तय गर्ने होला नि । बाउआमाका श्रोत भनेका त आफन्त न हुन् । अनि आफन्तका श्रोत केटा वा केटीका छिमेकी र आफन्त । छिमेक वा समाजले जसरि एउटा व्यक्तिलाई हेर्ने गर्छ त्यही अनुरूप धारणा बनाउँछ । अर्थात् उनीहरूको नजरमा ठीक लागेका ठीक र बेठीक लागेका बेठीक । तिमीलाई के ठीक लाग्छ भन्ने अाग्रह अनुरूप त छिमेक र समाजले सोंचिदिन्न नि । त्यसैले अरू कसैले आफ्ना आग्रह वा पुर्वाग्रहमा ठीक/बेठीक ठहर्याएको व्यक्ति कसरि तिम्रो जीवनमा ठीक वा बेठीक हुन्छ त?”
मैले अझै थपेँ ।
“यदि तिमीलाई आर्थिक रूपमा सम्पन्न सुसराल चाहिएको हो भने दर्जनौँ केटी किन हेर्नु ? बाउआमा र आफन्तले तयार गरेको लिस्टबाट धनी केटी हेर, सकियो । धनको कुरा होइन भने समाजले वितरण गरेको चारित्रिक प्रमाण पत्रमा उच्च अंक हासिल गरेकी केटी बिहे गर। सबै हेरिरहन आवश्यक परेन । रूपसी चाहिएको हो भने ती दर्जनभर फोटोहरूमा जो सबैभन्दा ‘सुन्दर’ लाग्छ उही केटी हेर। त्यहाँ दाल नगले अन्य कुनै रूपसीमा चित्त बुझाऊ ।”
म एकसुरमा भन्दै गएँ, “तिमीले बिहे त आफ्ना लागि गर्ने हो नि होइन ? अनि आफ्ना लागि गर्ने बिहेमा बाउआमा र आफन्तको खुसिको लिस्ट बोकेर ‘केटी हेर्न’ किन जाँदैछौ त ? बाउआमाका लागि बिहे गर्ने हो भने ‘घर गरेर खाने’, सुशील र उच्च घरानियाँ बिहे गर । छिमेकीका लागि हो भने घरका सबैकुरा सार्वजनिक गर्नसक्ने स्पष्टवादी साथै महिला अधिकारवादी केटी बिहे गर । साथीभाइका लागि गर्दिने हो भने जीरो फिगर, गोरो वर्ण, उँचो कद भएकी ‘च्वाँक’ केटी बिहे गर ।”
म उसको प्रतिक्रिया थाहा पाउन एकछिन रोकिएँ । ऊ अल्लमल्ल परिसकेको थियो । निकै उद्वेलित पनि देखिन्थ्यो।
“तिम्रो लागि ठीक जीवनसाथी त त्यो हो जसले हरेक समय, परिस्थिति र अवस्थामा पनि तिम्रो साथ नछोडोस् । तिमीलाई तिम्रो हरेक अवगुण सहित स्विकारोस् । यस्तो जीवनसाथी केही मिनटमा कसरि निर्धारण गर्न सक्छौ तिमी र यति लामो लिस्ट बोकि हिँड्दैछौ? मानिस, सबैका आ-आफ्ना बानी र विचार हुन्छन् । आ-आफ्ना दक्षता र अज्ञानता हुन्छन्। स्वभाव र आचरण हुन्छन् । एकछिन हेरेर, बोलेर को कस्तो छ कसरि बुझ्ने हो ? एक आपसको compatibility कसरि चेक गर्ने एकछिन बोलेर ? कसरि तय गर्छौ ऊ तिम्रो जीवनमा एडजस्ट हुन सक्ला भनि ? यी र यस्ता यावत् सवालहरू केही मिनटको भेटले सुल्झाउन सक्छ ? सक्दैन भने लिस्ट बनाएर केटि हेर्ने अभियान किन चलाउने ?”
म नरोकिइ एकै श्वासमा भनेँ,
“तिमीले केही मिनट हेरेर बोलेर मन पराएकी केटी कति सहनशील छ, कति मिलनसार छ, कति जुझारू छ कसरि थाहा पाउँछौ ? तिमीले हेर्दा देखिए जस्तै सुन्दर र आकर्षक उनी सधैं त देखिने छैनिन् नि । एकछिनको रसास्वादन त पक्कै होइन बिहे, कि कसो ? अहिले त तिमी राम्रो कमाउँदै छौ, जीवन सही चल्दैछ, दुख केही छैन । त्यसैले तिमीलाई केही समय हेरेर, बोलेर बिहे गर्न राजी जो पनि हुनसक्छ । तर जीवन सधै एकनास त पक्कै हुँदैन । भविष्यमा दुख, पीडा, समस्या र अभाव पनि नआउला भन्न सकिन्न । सबैकुरा सधै ठीक नहोलान् । त्यस्ता सम्भाव्य अप्ठ्यारा परिस्थितिमा पनि तिम्रो साथमा हुने, तिम्रा कठीन पलमा साथ दिने मानिस केही मिनटको भेटघाटबाट कसरि पहिल्याउँछौ त ? बाहिरी रूपको सुन्दरता र आवरणमा तिमीले चुनेको जीवनसाथी भोलि गलत स्वभाव र आचरणको निस्कियो भने के ? के तिमीलाई थाहा छ बिहे पछि एकअर्कासंग एडजस्ट गर्न नसक्दा जिन्दगी कसरि ‘जण्ड’ हुन्छ भन्ने ? यी सबै जटिल सवाल केही मिनटको भेटबाट हल गर्न सकिन्छ जस्तो लाग्छ तिमीलाई ? अनि किन लिस्ट बोकी हिँड्न खोजेको? “
यही सुर र शैलीमा मैले शायद अलि धेरै नै प्रवचन दिएछु क्यार, उसले सुन्न सकेन धेरै । अनायासै पड्कियो ।
“अब मैले कुनै केटि सेटि नै हेर्दिनँ । यत्रो लफडा ? हैट । बिहे नै गर्दिनँ भोलि गलत केटी परि भने त लाइफ खत्तम हुन्छ यार ।”
यतिञ्जेल चुपचाप सुनेका अरू साथी पनि म माथि बर्षिए ।
“यो धेरै जान्ने हुन्छ । कहाँको कुरा कहाँ लगेर बेकारमा तर्साउँछ अरूलाई ।”
मैले मुस्कुराउँदै भनेँ, ” केटी नै नहेर, बिहे नै नगर भनेको होइन । मेरो तात्पर्य केवल यति हो कि जे गर्न जाँदैछौ त्यो किन गर्दैछौ भन्नेमा कमसेकम आफू त क्लियर होऊ । लामो लिस्ट बनाएर कुनै वस्तुभाऊ किन्न हिडे जसरि त नहिँड । जिन्दगी तिम्रो हो । आवश्यकता र प्राथमिकता पनि तिम्रै हो । त्यसैले निर्णय पनि तिमीले नै लिने हो । तिमीलाई आफ्नो जीवनसाथी पनि मध्यस्थकर्ताले खोजिदिन/ठीक्क पार्दिन पर्ने ? ल ठीकै छ, एरेन्ज म्यारिज संस्कार हो, यसै अनुरूप चल्नु गलत पनि होइन । संस्कार कै लागि र बाउआमाको मन राख्दिन नै हो भने बाउआमालाई नै हेर्न पठाउ न। जसलाई रोज्छन् उसैसंग बिहे गर । संस्कार जोगाऊ । तर संस्कार होला समाज या परिवारको । जीवन त तिम्रो हो नि। केवल तिम्रो । त्यसैले सही मान्छे चुन्ने सही शैली त तिमीले नै अख्तियार गर्नुपर्ने होइन र ? तिमी ‘केटी हेर्न’ जाँदैछौ । उनी चिया लिएर, निहुरेर आउलिन्, तिमी अकडिएर कुर्सीमा बसौला, परिवारले एकान्त उपलब्ध गराइदेला अनि अन्तरक्रिया हुनुपर्नेमा अन्तरवार्ता सुरू होला । तर यो सब प्रक्रियाले तिमीलाई वा उनलाई आफ्नो निर्णय लिन कसरि सघाउँछ ? तिमी वास्तवमै भद्र छौ, नारीलाई ईज्जत गर्छौ र उनले तिम्रो परिवारका लागि आफ्नो परिवार छोडी तिमीसंग आउन् भन्ने चाहन्छौ भने अहंकार र लिङ्गिय अभिमानमा होइन, बरू आफ्नो ‘पौरूष’ भद्रता र स्पष्टवादीतामा प्रदर्शन गर न। अर्थात पहिला आफ्नो परिचय देऊ । आफ्ना रूचि, स्वभाव र जीवनशैली बताऊ । भविष्यबारे आफ्नो मोटामोटी योजना सुनाऊ । उनीमाथी प्रश्नको बर्सात गरेर आँखै आँखाले उनको ‘एक्सरे’ नगर । कुरै कुराले उनको ‘विगत’ छाम्ने धृष्टता नगर । उनका जवाफ र भावभंगिमाले उनको भर्जिनिटी प्रमाणीकरण नगर । हिम्मत छ भने आफ्ना कुरा पहिला स्पष्ट राख । उनको शारिरिक रूपरंगले उनको यौनिकता निर्क्यौल नगर । कमसेकम यति मनन् गर कि यौनको मामिलामा नारी प्राकृतिक रूपमै पुरूषभन्दा शक्तिशाली हुन्छन् । प्राकृतिक रूपमै कमजोर हामी पुरूष हौँ । हामी सबै पुरूषको यौनक्षमतामा एकरूपता नहुन सक्छ तर नारी गोरी हुन् या काली, अग्ली यो होची नारीको यौनक्षमता सबैमा बेजोड र अतिरिक्त हुन्छ । फेरि पनि हाम्रा कुत्सित आँखाहरूले ‘एक्सरे’ गर्न चुक्दैनन्। हामी हाम्रो पुरूषार्थ भद्रता र अग्रसरतामा देखाऔँ न । मेडिकल सर्टिफिकेट नै पेश नगरे पनि (सके गरेपनि भो), तिमि आफु निरोगी छु, कुनै यौनरोगबाट संक्रमित छैन अनि कुनै दीर्घरोग छैन, आफ्नो यौन स्वास्थ्य र क्षमता ठीक छ भन्ने कुरा खुलेर भन्न आँट न । उनको विगत कोट्याउने या चाल पाउने निरर्थक प्रयास छोड । आफ्नो विगत र यथार्थ स्पष्ट राख्ने हिम्मत गर। हामी साथीहरूलाई थाहा भएका तिम्रा सबै अवगुण बारे बताऊ केटीलाई । यी सबै कुरा भनिसकेपछि उनले तिमीलाई मन पराईन् भने तिमी ढुक्क भएर उनीसंग बिहे गरे हुन्छ, अरू हेरिरहन परेन । किनकि यति सबै बुझेपछि पनि तिमीसंग जीवन बिताउने आँट गर्ने केटी साधारण हुनै सक्दैन । त्यस्ती असाधारण केटी जीवनसाथीका रूपमा पाएपछि अरू के चाहियो तिमीलाई ?!!”
मैले आफ्ना कुरा टुङ्ग्याएँ । भन्न त त्यतिबेला अरू पनि के के भनेँ तर मोटामोटी सार यही थियो। केही क्षण कोही केही बोलेन । अलि पछि साथीहरूका ‘ल्याङ् ल्याङ्’ नचलेका होईनन् । तर ती उल्लेखनीय रहेनन्। मेरो ‘प्रवचन’ को असर कसमा के रह्यो त्यसको अवलोकन/ मूल्याङकनमा म लागिनँ । स्वभावत: मलाई त्यसको चासो हुने कुरा पनि भएन ।
त्यसको तीन दिनपछि मलाई मेरो साथीको बिहेको निम्तो आयो । फोनमा सगौरव सुनाउँदै थियो कि पहिलो दिन जसलाई हेरेँ उसैसंग बिहे गर्दैछु । उनले पनि मन पराईन्, मैले पनि मन पराएँ ।
उसको बिहे सम्पन्न भो। ३ वर्ष भो, उनीहरूको जीवन मज्जैसंग चलेको देखिन्छ । भेट हुँदा दम्पत्ति
निकै खुसि देखिन्छन् । सबै ठीकै राम्रै देखिन्छ ।
अन्त्यमा,
केटा वा केटी मध्ये कसले कसलाई हेर्ने भन्दा पनि “किन हेर्ने र कसरि हेर्ने” भन्ने कोणबाट अभिप्रेरित लेख हो यो । यसलाई एरेन्ज म्यारिज प्रतिको अफेन्सको रूपमा नलिईयोस् । एरेन्ज म्यारिजका धेरै पाटाहरू अद्यावधिक गर्न जरूरी छन् । तुरून्तै गरिन पर्ने एउटा अत्यावश्यक कुरा हो केटा र केटीको मेडिकल रिपोर्ट हेर्ने परिपाटीको विकास। एरेन्ज म्यारिज र लभ म्यारिजबारे पछि कुनैबेला गफिउँला । धन्यवाद ।

