काठमाडौं । देशको सबैभन्दा ठूलो सञ्चारगृह मानिने कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया फौजदारी आरोपमा आज आफ्नो कार्यकक्षबाटै पक्राउ परे । दोहोरो नागरिकताको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेपश्चात जनमानसमा विभाजित प्रतिक्रियाहरु उत्पन्न भइरहेका छन् ।
सामाजिक सञ्जालको प्रतिक्रिया हेर्दा जनमानसको ठूलो हिस्सामा खुशी छाएको देखिन्छ । तर, सञ्चार जगतका अगूवाहरु र पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघले यसको निन्दा गरेका छन् । सिरोहिया पक्राउलाई प्रेस स्वतन्त्रतासँग जोडेर पनि भत्र्सना गरिएको छ ।
अर्कोतर्फ प्रतिपक्ष दल नेपाली कांग्रेस सिरोहियाको बचाउमा उभिएको छ । कांग्रेसका केही प्रभावशाली सांसदहरु आज कान्तिपुर कार्यालयमै पुगेर सिरोहियालाई सान्त्वना दिएका थिए । सिरोहियामाथि प्रक्राउ पूर्जी जारी हुनासाथ संसदमा कांग्रेस सांसदले उनको पक्षमा आवाज उठाएका थिए । कांग्रेसको यस्तो कार्यले यो प्रकरणको राजनीतिकरण हुनसक्ने देखिन्छ ।
अर्कोतर्फ आफूविरुद्ध कान्तिपुरले धारावाहिक समाचार लेखिरहेको हुँदा सिरोहियामाथि गृहमन्त्रीले व्यक्तिगत प्रतिशोध साँधेको आशंका र टिप्पणीहरु पनि भइराखेका छन् । यद्यपि, लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श नगरिकन यो कदम चाले होलान् भन्न सकिन्न ।
सिरोहिया स्वयम्ले आफ्नो पक्राउलाई कान्तिपुरविरुद्ध गठबन्धन र प्रधानमन्त्रीले गरेको प्रहारका रुपमा व्याख्या गरेका छन् । उनको सबैभन्दा बढी आक्रोश गृहमन्त्रीमाथि नै छ ।
उनले पक्राउ पर्नुअघि आक्रोशित भावमा भिडिओ सन्देश जारी गरेका थिए ।
नागरिकताको विवाद सिरोहियाको व्यक्तिगत विषय हो । तर, उनले यसलाई कान्तिपुर दैनिक मात्र नभएर समग्र सञ्चार जगतसँग जोड्न खोजेका छन् । सञ्चार क्षेत्रका केही हस्तीले प्रेस स्वतन्त्रताको दुहाई पनि दिइरहेका छन् ।
नागरिकता सम्बन्धमा उजुरी परेपछि प्रहरीले अनुसन्धान गर्नु उसको दायित्व नै थियो । जिल्ला अदालतबाट अनुमति लिएर प्रक्रियाअनुसार नै पक्राउ गरिएको छ । यसलाई प्रेस स्वतन्त्रताको हननको रुपमा व्याख्या गर्नु उचित होइन । पत्रकार महासंघको उच्च नेतृत्व आज कान्तिपुरको कार्यालयमा उपस्थित भएर सिरोहियाप्रति ऐक्यवद्धता जनाउनु प्रश्नयोग्य छ ।
गृहमन्त्री लामिछानेले सिरोहियामाथि व्यक्तिगत प्रतिशोधको भावना राखेका हुन् भने त्यो पनि ठीक होइन । सिरोहियामाथि पक्राउ गर्ने ‘टाइमिङ’ ले यस्तो शंका गर्ने आधार दिएको छ ।
कान्तिपुरको एकोहोरो खेदाइका बीच सिरोहिया पक्राउ पर्नुले बाघ कराउनु र बाख्रा हराउनुझैं भएको छ । यद्यपि, यदि सिरोहिया निर्दोष छन् भने लामिछानेले चाहेर मात्रै केही हुनेवाला छैन । छिनोफानो अदालतबाटै हुने हो ।

