काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको विषय कूटनीतिक क्षेत्रमा अहिले चर्चाको विषय बनेको छ ।
चर्चा यसकारण कि परराष्ट्रमन्त्री राणा देउवालाई भारतीय प्रधानमन्त्री मोदीले कसरी सहजै भेट दिए ? किनभने यसअघि यति सजिलै नेपालका कुनैपनि परराष्ट्रमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई सायदै भेटेका थिएनन् । तर, एमाले र कांग्रेस गठबन्धन सरकारकी परराष्ट्र मन्त्री राणाले भने मोदीसँग सहजै भेटवार्ता गरिन् । कतिपयले आरजुको व्यक्तिगत सम्बन्धका कारण पनि प्रधानमन्त्री मोदीसँगको भेटघाट सहज र सम्भव भएको बताएका छन् ।
परराष्ट्रमन्त्री देउवाको भारत भ्रमण तयारी भइरहँदा प्रधानमन्त्री मोदीसँगको भेटघाटलाई कार्यतालिकामा राखिएको थिएन । यद्यपि राणाले व्यक्तिगत रूपमा प्रधानमन्त्री मोदीसँग भेट्ने तयारी भने गरिरहेकी थिइन् । भारत भ्रमणमा गइसकेपछि पनि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ कि हुँदैन भन्ने अन्योल कायमै थियो । तर मन्त्री देउवाले व्यक्तिगत पहुँचका आधारमा त्यसलाई सम्भव बनाइन् ।

‘प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री देउवाले भेट्नु कुनै नौलो कुरा होइन, किनभने उनीहरूबिच यो पहिलो भेट थिएन, पूर्वराजदूत विजयकान्त कर्णले भने, ‘प्रधानमन्त्री मोदीसँग देउवाको पहिला पनि पटक पटक भेट भइसकेको हो ।’ उनले यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीको श्रीमतीका रूपमा मोदी र देउवाबिच पटकपटक भेट भइसकेकाले पनि अहिले सजिलो भएको बताए ।
त्यसो त आरजु परराष्ट्रमन्त्री मात्रै होइनन् । उनी पूर्वप्रधानमन्त्रीको श्रीमती, फस्ट लेडी, नेक्स्ट पीएमका श्रीमती, कांग्रेस पार्टीको नेता, कांग्रेस सभापतिका श्रीमती पनि हुन् । ‘नेपालका ‘पावरफुल लेडी’ भएकै कारणले पनि प्रधानमन्त्री मोदीले महत्त्व दिएर भेटेका हुन्’, कर्णको बुझाई छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले जतिपटक भारत भ्रमण गरे ती सबैमा ‘फस्टलेडी’ को रूपमा आरजुको सहभागिता हुने गरेको थियो ।
औपचारिक भ्रमणबाहेक अन्य भ्रमणका बेला नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले समेत भारतका प्रधानमन्त्रीलाई भेट्न कठिन हुने गरेको अवस्थामा परराष्ट्रमन्त्री र अन्य मन्त्रीको कुरा त टाढाको विषय हुने गरेको जगजाहेर नै छ । बरु भारतबाट कुनै सामान्य मन्त्री वा पार्टीका कुनै शीर्ष नेता, विदेश मन्त्रालयका कुनै कर्मचारी आउँदा यहाँका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, नेताहरूलाई सहजै भेटेर फर्केका धेरै उदाहरण छन् ।
यहाँसम्म कि नेपालस्थित भारतीय दूतावासका राजदूत तथा अन्य प्रतिनिधिले समेत उनीहरुले चाहेकै बेला नेपालका प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटिरहेका हुन्छन् ।
साउन २७ गते नेपाल भ्रमणमा आएका बेला भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र पार्टीका शीर्ष नेताहरूलाई म्याराथुन शैलीमा भेटेर स्वदेश फर्केको धेरै समय भएको छैन । मिस्रीमात्र होइन, भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले नेपाल आएका बेला पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र पार्टीका शीर्ष नेताहरूलाई सहजै भेटेर फर्केका थिए ।
‘भारतका प्रधानमन्त्री मोदीले पनि छिमेकी देशसँग समान व्यवहार गर्नुपर्छ भनेर यसपटक बुझेको हुनुपर्छ,’ परराष्ट्र विज्ञ टंक कार्कीले भने, ‘छिमेकी भनेपछि सानो ठुलो हुँदैन, अरुबाट जस्तो व्यवहारको अपेक्षा गरेको हुन्छ, आफूले पनि त्यस्तै व्यवहार गर्नुपर्छ ।’
परराष्ट्रमन्त्रीले कुनै देशका प्रधानमन्त्रीलाई भेट्नु सामान्य कुरा भएको कार्कीले बताए । उनले कूटनैतिक सम्बन्ध विस्तारका लागि भेटघाट हुनुपर्ने तर त्यो भेटले दुवै देशलाई के फाइदा हुन्छ त्यो बढी महत्त्वपूर्ण हुने बताए । ‘परराष्ट्रमन्त्री देउवाले भारतका प्रधानमन्त्री मोदीलाई भेट्नु सामान्य कुरा हो । यसलाई चर्चाको विषय बनाउनु नै हुँदैन तर त्यो भेटबाट नेपाललाई के फाइदा भयो वा त्यसबाट नेपालले कति फाइदा लिनसक्छ त्यो महत्त्वपूर्ण हो’, कार्कीको भनाइ छ ।
छिमेकी देश बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, वर्मालगायतका देशसँग भारतको अहिले त्यति राम्रो सम्बन्ध छैन । यो अवस्थामा नेपालसँगको सम्बन्ध थप नबिग्रियोस् भनेर नै प्रधानमन्त्री मोदीले परराष्ट्रमन्त्री देउवालाई महत्त्व दिएको हुनसक्ने परराष्ट्र विज्ञ कार्कीको बुझाई छ ।
साथै उनले उक्त भेटघाटमा मन्त्री देउवाभन्दा बढी प्रधानमन्त्री मोदीको स्वार्थ देखिएको दाबी गरे ।

देशको कूटनीति सम्बन्ध परराष्ट्र मन्त्रालयमार्फत सञ्चालित हुने र परराष्ट्र मन्त्रीले सोझै प्रधानमन्त्रीसँग सम्बन्ध बनाएर आफ्नो कुरा राख्न पाए त्यो प्रभावकारी हुने पूर्वराजदुत कर्णको विश्लेषण छ ।
‘भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आएका बेला परराष्ट्रमन्त्री देउवासँग छलफल गर्दा हवाई रुट, पञ्चेश्वर परियोजना लगायतका विषयमा कुरा उठेको थियो । परराष्ट्रमन्त्री देउवाले आफ्नो भ्रमणका समयमा त्यो कुरा प्रधानमन्त्री मादीसँग सिधै राख्नुभयो यो सबभन्दा प्रभावकारी भयो’, कर्णको भनाइ छ ।
कूटनीतिमा कुनै कुरा कार्यकारीसमक्ष अरुमार्फत राख्नु र आफैँ प्रत्यक्ष राख्नुमा फरक हुने गरेको कर्णले बताए । उनले परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री मोदीसँग प्रत्यक्ष भेट्नुले दुई देशको सम्बन्धमा केही नकेही फरक पर्ने र आउने दिनमा देखिने विश्वास व्यक्त गरे ।

