३, वैशाख, चितवन ।
प्रेस चौतारी नेपाल चितवनका सचिव लक्ष्मण गौतम र उनकी श्रीमती वसन्धुरा गौतमले वैवाहिक वार्षिकोत्सवको सन्दर्भ पारेर प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।
आफ्नो २५ औँ वैवाहिक बार्षिकोत्सवका अवसरमा प्रेस चौतारी चितवनको निर्माणाधीन भवनमा पुगेर गौतम दम्पतीले १५ हजार १० रुपैयाँ सहयोग गरेका हुन् ।
गौतम २५ बर्ष अगाडि वसन्धुरा प्रसाईसँग वैवाहिक वन्धनमा बाँधिएका थिए । गौतमले गत बर्ष आफ्नो जन्मदिनको अवसरमा ११ हजार १ सय ११ रुपैयाँ भवन निर्माणका लागि सहयोग गरेका थिए । गौतमले भवनका लागि हालसम्म २६ हजार १ सय २१ रुपैयाँ सहयोग गरेका छन् ।
प्रेस चौतारी नेपालको देश कै पहिलो भवन चितवनमा बन्न लागेको प्रति खुसी भएको भन्दै चौतारी चितवनका सचिव लक्ष्मण गौतमले यसलाई यसलाई पूर्णता दिन सबैको साथ र सहयोगको खाँचो रहेको बताए । उनले संगठनको पहिलो भवन भएकोले देशभरका चौतारी आवद्ध रहेका, शुभेच्छुकहरुले सहयोग गर्नुपर्ने बताए । चितवनले सुरु गरेको कामले अन्य जिल्लालाई समेत प्रेरणा मिल्ने भन्दै जिल्ला शाखा चितवनका सचिव गौतमले भवनले संगठनको संस्थागत विकासमा टेवा पुग्ने बताए ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले संगठनका सचिव गौतमलाई वैवाहिक बर्षगाँठको अवसरमा शुभकामना दिँदै भवन निर्माणमा गरेको सहयोगले हौसला मिलेको बताए । चितवनको भरतपुर–११ बसेनीमा निर्माण हुँदै गरेको भवनलाई विभिन्न संघसंस्था तथा ब्यक्तिहरुले गरेको सहयोग अतुलनीय रहेको अध्यक्ष पण्डितले बताए ।
समाजसेवी केशव कार्कीले प्रदान गरेको ९ धुर जग्गामा चौतारी चितवनको भवन बनिरहेको छ । भवनको फिनिसिङ्ग गर्ने काम सुरु भएको छ । भवनको पहिलो तलामा कार्यालय कक्ष, दोस्रोमा हल र तेस्रो तलामा आवासिय कोठाहरु रहनेछन् । भवनको लागत १ करोड ५० लाख अनुमान गरिएको छ ।