काठमाडौं, २९ असोज
नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिएका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उनको दाबी छ ।
तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा पार्टीलाई एमालेमा विलय गरेका थिए ।
एमालेले जसपासँग तराई मधेसका १४ जिल्लामा चुनावी तालमेलको सहमति गरेको छ ।
त्यसप्रति असन्तुष्ट एमाले नेता प्रभु साहले पार्टीको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् भने सिट बाँडफाँटमा जसपाको भागमा परेका केही क्षेत्रमा स्वतन्त्र उम्मेदवार पनि उठाएको छ ।
एमालेले भने साहलाई निष्काशन गरेको छ ।


