रेशम सापकोटा
भरतपुर, चितवन — आश्रय, माया र शिक्षाको माध्यम बनेको बालगृहबाट निस्किएकी एक प्रतिभाशाली किशोरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हात पार्न सफल भएकी छिन्। ब्राइटस्टार समाज नेपाल (बालगृह), भरतपुर–२, क्षेत्रपुरमा आवास सहित बसोबास गर्दै आएकी बबिता सुनारले २०८१ सालको एसईई परीक्षामा 3.1 GPA सहित बी प्लस ग्रेड हासिल गरेकी छन्।
बबिता भरतपुर–२ स्थित सनफ्लावर इङ्ग्लिश बोर्डिङ स्कुलबाट एसईई परीक्षा दिएकी हुन्। उनको कक्षा १० सम्मको सम्पूर्ण शैक्षिक खर्च सोही विद्यालयका सञ्चालक दिपेश गुरुङ र गौरी गुरुङले व्यवस्थापन गर्नुभएको थियो।
बबिताको यस उपलब्धिमा ब्राइटस्टार समाज नेपालले विद्यालय परिवारप्रति आभार प्रकट गर्दै विशेष धन्यवाद ज्ञापन गरेको छ। संस्थाले कठिन परिस्थितिमा पनि शिक्षा प्राप्तिको ढोका खोलिदिने गुरुङ दम्पतीप्रति कृतज्ञता व्यक्त गरेको हो।
बबिताको उज्ज्वल भविष्यप्रति शुभकामना दिँदै संस्थाले यस सफलताले अरु बालबालिकालाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेको छ।
सनफ्लावर बोर्डिङ स्कुलकी सञ्चालक गौरी गुरुङ ब्राइटस्टार समाज नेपाल बालगृहको सल्लाहकार समितिकी सदस्य समेत हुन्। उहाँको सक्रियता र समर्पणले शिक्षा र सेवा कार्यलाई एकअर्कामा जोड्न महत्वपूर्ण भूमिका खेलेको संस्थाको भनाइ छ।
ब्राइटस्टार समाज नेपालले लामो समयदेखि बालबालिकाको शिक्षादीक्षा, संरक्षण र आत्मनिर्भरताका लागि समर्पित बालगृहको रूपमा कार्य गर्दै आएको छ।

