नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न निर्वाचन आयोगले पठाएको भनिएको पत्र प्रहरी कार्यालय रौतहटमा पुगेको छैन। आयोगले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पत्र पठाएको आई नपुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
आधिकारिक रूपमा पत्र प्राप्त नभएको कार्यालयका प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले जानकारी दिए। ‘हामीले पनि सामाजिक सञ्जालमा पत्र देखेका हौँ,’ एसपी मगरले भने, ‘आधिकारिक रूपमा आएको छैन, आएपछि अनुसन्धान गर्छौं।’
प्रहरी कार्यालयमा पत्र पठाए नपठाएको विषयमा निर्वाचन आयोग पनि बोलेको छैन। आयोगका सहप्रवक्ता गुरुप्रसाद वाग्लेले आफू राजु गुरुङको उम्मेदवारी खारेजको मुद्दामा सर्वोच्च अदालतमा जानु परेकाले पत्र गए नगएको थाहा नभएको बताए। ‘मलाई यसबारे थाहा भएन,’ वाग्लेले भने, ‘शनिवार अफिस गएपछि बुझेर भनौँला।’

