प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। शुक्रबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
उनले गठबन्धनका बीचमा आपसी शंका, उपशंका हुन नहुने पनि बताए। उनले राजावादीहरु आफूहरुलाई राष्ट्रवादी भन्न थालेको उल्लेख गर्दै आफूहरु राष्ट्रवादी, प्रजातन्त्रवादी र समाजवादी सबै भएको उल्लेख गरे।
प्रधानमन्त्री देउवाले गठबन्धन विरुद्धको कुनैपनि भ्रममा नपर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरे। उनले आगामी दिनमा पनि गठबन्धनको सरकार बन्ने दाबी गरे। उनले भने, ‘अहिलेका लागि गठबन्धनको खिलाफमा ठूलो तागत लागिरहेको छ। राजावादी तागत निकै राष्ट्रवादी हुँ भन्न थालिसके। हद हुन्छ नि। राजावादी भएर राष्ट्रवादी हुने कुरा होइन। राष्ट्रवादी पनि हामी हौँ। प्रजातन्त्रवादी पनि हामी हौँ। समाजवादी पनि हामी हौँ। लाल सलाम पनि हामी हौँ। जय नेपाल पनि हामी हौँ। यो गठबन्धनलाई कुनैपनि बाहानामा एक अर्का पार्टीप्रति शंका, उपशंका गर्ने काम नगरौँ।’
उनले माओवादी केन्द्र, समाजवादी र राष्ट्रिय जनमोर्चाले आफूलाई सम्मान गरेर प्रधानमन्त्री बनाएको भन्दै गठबन्धन बलियो बनाउनु र बचाउनु नेपाली कांग्रेसको कर्तव्य हुने बताए। समावेशीता, संविधान र गणतन्त्र बचाउन अझै केही वर्ष गठबन्धन आवश्यक रहेको उनको भनाई छ।

