शुक्रवार भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङस्थित गैडा गाउँमा उम्मेदवार प्रेम सुवालको चुनावी घरदैलो अभियानको शुभारम्भ कार्यक्रम थियो । बिहान करीब ९ बजे त्यहाँ पुग्दा पहिलो चुनावी सभामा सुवालले भाषण गर्दै थिए ।
‘हाम्रा युवाहरू सबैलाई विदेशमा पठाएर हाम्रो गाउँको बाटो बन्दैन । हाम्रै देशमा रोजगारी दिनुपर्छ भनेर हामी संसदमा आवाज उठाउँछौं,’ सुवालले चुनावी सभामा भाषण गर्दै भने, ‘हामीले ख्वप विश्वविद्यालय शुरू गर्न सक्यौं भने हामी मात्र १५ लाख रुपैयाँमा डाक्टर पढाइदिन्छौं भनेर भन्यौं तर सरकारमा जाने पार्टीहरूले हाम्रो ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिई करोडौं असूल गर्ने निजी मेडिकल कलेजलाई स्वीकृति दियो ।’
उनले अगाडि भने, ‘त्यसैले यी सब समस्या समाधान गर्न हामीलाई जिताउनुपर्छ अनि संसदमा हामी जोडदार आवाज उठाएर सरकारलाई निर्देशन दिन्छौं ।’
मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रेम सुवाल भक्तपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट नेपाल मजदुर किसान पार्टीको उम्मेदवार छन् । नेकपा एमालेबाट नवराज गेलाल उम्मेदवार छन् भने माओवादी केन्द्रबाट सुनिल गोठे उम्मेदवार छन् ।
चुनावी सभापश्चात गैडा गाउँबाट १ किलोमिटर जति चुनावी र्याली गर्दै कार्यक्रमको समापन भयो । समापनपश्चात थोरै समय प्रेम सुवालले लोकान्तर टीमसँग कुराकानी गरे ।
‘हाम्रो पार्टीले नेपालका मजदुर र काम गरिखाने जनताको प्रतिनिधित्व गर्छ,’ उनले कुराकानीमा भने, ‘विद्यालय र विश्वविद्यालय शिक्षा निःशुल्क र अनिवार्य गर्नुपर्छ भनेर प्रतिनिधि सभामार्फत सरकारलाई निर्देशन दिन सक्यौं भने सम्पूर्ण विद्यार्थी लाभान्वित हुन पाउनेछन् । अहिले हाम्रो देशमा वार्षिक १३ लाख विद्यार्थी १ कक्षामा भर्ना हुने गर्छन् भने करीब ५ लाख विद्यार्थी मात्र एसईई परीक्षा दिन्छन् अनि त्यसमा पनि ३ लाख मात्र पास हुन्छन् । यसरी हेर्दा १० लाख विद्यार्थीहरू एसईईमा पुग्न नसकेको देखिन्छ । त्यसैले विद्यालय र विश्वविद्यालय शिक्षा निःशुल्क र अनिवार्य गर्न सके यस्तो समस्या आउँदैन ।’
सार्वभौमिकताको रक्षा र एमसीसीको विरोधका लागि आफूलाई भोट दिनुपर्ने उनले बताए । ‘देशको सार्वभौमिकता रक्षाका लागि, देशको सिमाना सुरक्षाको निम्ति, भारतीय विस्तारवादले हाम्रो देशको सिमाना अतिक्रमण गरिरहेको छ, त्यसको विरोधका निम्ति, त्यस्तै एमसीसी सम्झौता संसदबाट पारित भए तापनि कार्यान्वयन गर्न दिन हुँदैन । यो देशको हितमा छैन, त्यो खारेज गर्नैपर्छ । यस्तो विषय हामी संसदमा उठाउँछौं, यसको विरोध गर्छौं,’ उनले लोकान्तरसँगको कुराकानीमा भने ।
नेमकिपाले देशभर ५८ जिल्लामा उम्मेदवार उठाएको जानकारी सुवालले दिए । जसमा प्रत्यक्षतर्फ १०९ जना उम्मेदवार रहेका उनले बताए ।

