काठमाडौं । मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरात १२ बजेपछि विशेष अवधि सुरु हुनेछ । विशेष अवधिमा चुनावी प्रचारप्रसार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
मतदान हुने दिनभन्दा २ दिनअघि आयोगले विशेष अवधि मानेर उम्मेदवार, राजनीतिक दल तथा अन्य कसैले पनि प्रचार गर्न नपाउने बताएको हो । निर्वाचन कसुर तथा सजाय ऐनमा ४८ घण्टा कसैले पक्ष-विपक्षमा मत माग्न नपाउने व्यवस्था छ ।
राजनीतिक दल तथा उम्मेदवारले असोज २६ देखि घरदैलो कार्यक्रम गरिरहेका छन् । कात्तिक १७ गतेदेखि १५ दिन चुनावी सभा, कोण सभा तथा र्याली गर्न पाउने अवधि हो ।
आज राति १२ बजेपछि भने चुनावी प्रचारको समय सकिँदैछ । त्यसपछि ४८ घण्टा कुनै पनि दल र उम्मेदवारले प्रचारप्रसार गर्न पाउने छैनन् । यो अवधिमा भोज भतेर, नाचगान, जुलुस, प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
सञ्चारमाध्यममासमेत उम्मेदवार तथा दलको पक्ष-विपक्षमा सूचना प्रवाह गर्न पाइने छैन । सामाजिक सञ्जालमा त्यस्ता सामग्री पोष्ट, सेयर तथा लाइक र कमेन्ट गर्न नहुने आचारसंहितामा उल्लेख छ।
४८ घण्टा अघिबाट सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुनेछन् । नयाँ जनप्रतिनिधि चुन्न मंसिर ४ गते आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुँदैछ ।

