ई–सेवा मनी ट्रान्सफरले आजदेखि आन्तरिक रेमिट्यान्स (विप्रेषण) को कारोबार बन्द गरेको छ । रेमिट्यान्स कम्पनीको मुख्य काम देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउनु (इनवार्ड रेमिट) रहेको, आन्तरिक रेमिट्यान्स कारोबारलाई नियामक निकायले कडाइ गर्दै गएको, डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नुपरेको लगायत कारण आइतबारदेखि आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको कम्पनीले बताएको छ ।
‘आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपले बन्द गर्ने निर्णय गरेका छौं,’ ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘उक्त निर्णयको जानकारी राष्ट्र बैंकलाई पनि दिइसकेका छौं ।’ अब कम्पनीको सम्पूर्ण ध्यान विदेशबाट स्वदेशमा रेमिट्यान्समार्फत विदेशी मुद्रा भित्र्याउन उपयोग गरिने पनि उनको भनाइ छ ।
विप्रेषण विनियमावली २०६७ विनियम ७ को खण्ड (ञ) मा विप्रेषकले विदेशबाट विप्रेषणका रूपमा विदेशी मुद्रा प्राप्त गर्ने (इनवार्ड रेमिट्यान्स) कार्य मात्र गर्न पाउने व्यवस्था रहेकामा यस कम्पनीले सोही विनियम र खण्डअनुसार नै कार्य गर्दै आएको छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोइरालाले भने, ‘स्वदेशमा स्वदेशी मुद्रामा विप्रेषण कार्य गरिएको सम्बन्धमा यस कम्पनीले नेपाल इन्भेस्टमेन्ट बैंकको इजाजत प्रयोग गर्ने गरी ०७६ फागुन २१ मा दुवै पक्षबीच लिखित सम्झौता गरी उक्त काम गर्दै आएको थियो ।’
राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीले विदेशबाट रेमिट्यान्समा विदेशी मुद्रा प्राप्त गर्ने कार्य मात्र गर्न पाउने व्यवस्थाको पूर्ण रूपमा पालना गर्नू भनी निर्देशन दिएको छ । उक्त निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्नकै लागि पनि आन्तरिक रेमिट्यान्स कारोबार बन्द गरिएको कम्पनीको दाबी छ । ‘नेपाल सरकार र नेपाल राष्ट्र बैंकले पनि डिजिटल कारोबार प्रवर्द्धन र प्रोत्साहनलाई प्राथमिकतामा राखेको तथ्यलाई दृष्टिगत गरी ई–सेवा मनी ट्रान्सफर प्राइभेट लिमिटेडको सञ्चालक समितिले ०७९ पुस १६ पछि आन्तरिक रेमिट्यान्ससम्बन्धी कारोबार पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छौं,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।

