नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्न राजनीतिक पिक्चर क्लीयर नभएको बताएका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म आफूहरू एउटा निष्कर्षमा पुग्ने उनले बताए ।
पार्टी निकट युवा संघले बुधवार राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रचण्डको अनुहार हेरेर मात्र सरकारलाई समर्थन गर्न नसकिने बताएका हुन् ।
‘हाम्रो पार्टीले सरकारलाई समर्थन गर्ने या विरोध गर्ने कुरा लेखेन भनेर समाचार लेखेको पाएँ, जब पिक्चर क्लीयर छैन भने कसरी निर्णय गर्न सकिन्छ ? राजनीतिक सिनारियो क्लीयर हुनुपर्यो नि – यो सरकारले कस्तो नीति कार्यक्रम ल्याउँछ ?’ नेता नेपालले भने, ‘प्रचण्डको अनुहार हेर्दा समर्थन गर्ने कुरा गर्दिउँ जस्तो हुन्छ, अनुहारले मात्र हुँदैन । अनेक कुरा छन् ।’
अध्यक्ष नेपालले सरकारलाई समर्थन गर्ने/नगर्नेबारे पुस २६ गतेसम्म आफूहरूले सस्पेन्स राख्ने बताए । ‘हामी पनि नेपालको राजनीतिमा छौं, हामीलाई कुनै जानकारी छैन । त्यतिकै अगाडि सरेर बोल्ल्ने कुराको के हतारो ? के बित्दो छ ? २६ गतेसम्म निर्णय गरे पुगेन ? त्यो दिनसम्म सस्पेन्समा रहोस्,’ उनले भने ।
अध्यक्ष नेपालले विचार मिल्ने राजनीतिक दलसँग मोर्चा बनाएर जाने योजना रहेको बताए । ‘विभिन्न पार्टीसँग कुराकानी शुरू गरेका छौं, कसैले अवमूल्यन गर्लान् कि भनेर आत्तिनुपर्ने अवस्था छैन,’ नेपालले भने ।
अध्यक्ष नेपालले संसदमा राष्ट्रिय पार्टी नबने पनि पार्टीको ह्वीप लाग्ने दाबी गरे । ‘प्रत्यक्षबाट १० सिट पायौं, पार्टीकै नेताको कमजोरीका कारण समानुपातिकमा कटाउन सकेनौं, राष्ट्रिय पार्टीको ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको भए हेलिकोप्टर दिन्थ्यो र ?’ नेपालले भने, ‘राष्ट्रिय पार्टी नबने पनि पार्टीको ह्वीप लाग्छ, थ्रेसहोल्ड पार नगरे पनि ह्वीप लागेको र पद गुमाएको थाहा पाउनुभएको छ । अनेकौं किसिमका भ्रम पैदा गरिएका छन् तर भ्रममा नपरे हुन्छ ।’

