नियुक्त भएको १५ दिनपछि मन्त्रीहरूले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।
प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले गत पुस २५ गते पहिलो चरणमा ३ जना मन्त्री नियुक्त गरेका थिए भने पुस ३० गते दोस्रो चरणमा पनि ३ जना नै नियुक्त गरेका थिए ।
शुक्रवार साँझ भने मन्त्रीहरूलाई मुख्यमन्त्रीले मन्त्रालयको जिम्मेवारी तोकेका थिए । जसअनुसार तिलकुमार मेन्याङ्बोले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा पाएका छन् भने दुर्गा चापागाईंले सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।
यसैगरी भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय र जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय तोकिएको छ । बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय र निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
शनिवार तथा आइतवार दुवै दिन बिदा भएकाले मन्त्रीहरूले सोमवार कार्यभार सम्हालेका हुन् । मन्त्रीहरूलाई मन्त्रालय नतोकिँदा मन्त्रीहरूको बास होटलमा हुने गरेको थियो ।
अब प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने भएको छ । अब यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय खारेज भएको छ ।
मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून आफैंसँग राखेका छन् ।

