प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्न आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताएका छन्।
आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सातै प्रदेशमा विशेष अस्पतालहरूको निर्माण गरेर मुटु रोगसँग सम्बन्धित उपचारलाई पनि सातै प्रदेशका अस्पतालसँग जोड्ने कुरालाई उच्च प्राथमिकतामा राखेको बताए।
गंगालाल अस्पतालालई शैक्षिक केन्द्रको रूपमा विकास गर्न आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए।
उनले भने, ‘तपाईंहरू सबैको सहयोग भएमा हामी त्यसलाई पूरा गर्न सक्छौँ । त्यसले स्वास्थ्य क्षेत्रमा राम्रो परिवर्तनको संकेत जान्छ । यसलाई शैक्षिक प्रतिष्ठानको रुपमा विकसित गर्न जरुरी भनिएको छ, प्रक्रियागत र व्यवहारिक जटिलता के कति छन् भन्ने कुरा मलाई सबै अध्ययन गर्नुपर्छ । यसलाई शैक्षिक प्रतिष्ठानको रूपमा विकास गरी देशभर मुटु रोगको उपचारको निम्ति विकेन्द्रित रुपमा बनाउने सपनामा मेरो समर्थन छ ।’
प्रधानमन्त्री दाहालले देशमा धेरै समस्याको समाधान गर्नुपर्ने चुनौती रहेको बताए। केही घटनाक्रमले समाज राज्यप्रति वितृष्णा पैदा हुन संकेत देखिएको बताए।
कर्मचारी तन्त्रलाई व्यवस्थित गर्ने कुरामा पनि सरकारले जोड दिने बताए।

