काठमाडौं- वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुसँग राष्ट्र बैंकका अधिकारीहरुले ४ घण्टा लामो डिनर मिटिङ गरेका छन्। होटल याक एन्ड यतिमा भएको उक्त छलफलमा राष्ट्र कैँकले बैंकका सीईओहरुलाई ढाडस दिएको बताइएको छ।
छलफलमा सीईओहरूलाई आफ्ना समस्या राख्न समय दिइएको थियो। घरेलु साना तथा मझौला उद्योग व्यवसाय, सिमेन्ट तथा छड उत्पादक, पर्यटन र निर्माणलगायतका क्षेत्रहरु समस्यामा रहेकाले बैंकहरुमा खराब कर्जा बढेको बैंकका सीईओहरूले बताएका थिए। यी क्षेत्र सहज हुनसाथ बैंकको खराब कर्जा घट्ने बताउँदै उनीहरुले निश्चित अवधिका लागि कर्जाको पुनर्संचरना गर्न आग्रह गरेका थिए।
यसैगरी, आगामी आर्थिक वर्षबाट काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा आउने भएकाले पुँजी बढाउनका लागि पनि उनीहरु जोड दिएका थिए। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरोधी गतिविधि बढेको भन्दै यसका बारेमा पनि उनीहरुले छलफल गरेको राष्ट्र बैंक स्रोत बताउँछ।
‘बैंकका सिइओलाई बोल्न दिएको हो। उनीहरुलाई आफ्ना समस्याहरु निर्धक्कसँग राख्न आग्रह गरिएको थियो। उनीहरुले विशेषगरी एसएमई, पर्यटन, निर्माण, सिमेन्ट तथा छड उत्पादकका समस्यामा रहेकाले कर्जाको पुनरसंचना गरिदिन र बढ्दो बैंक विरोधी गतिविधिबारे कुरा राखेका थिए,’ स्रोतले भन्यो।
जवाफमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले नै आतिहाल्नुपर्ने अवस्था नरहेको बताएका थिए। उनले बैंकरको कुरा मात्रै सुनेर कुनै पनि नीतिगत निर्णयको संकेत भने गरेका थिएनन्। यद्यपि, चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षाको पूर्वसन्ध्यामा बैंकरसँग छलफल भएकाले राष्ट्र बैंकले केही नीतिगत निर्णय गर्ने संकेतको रुपमा बुझ्नुपर्ने राष्ट्र बैंकका अधिकारी बताउँछन्।
गभर्नर अधिकारीले बैंकरहरुलाई ढाडस दिँदै गत वर्षको तुलनामा खराब कर्जा बढेपनि आतिहाल्नुपर्ने अवस्था नरहेको बताएका थिए। बैंकविरोधी घट्नाप्रति संकेत गर्दै यस्ता गतिविधि निरन्तर रुपमा अगाडि बढेमा राष्ट्र बैंक कठोर रूपमा प्रस्तुत हुने आश्वासन गभर्नर अधिकारीले बैंकर्सलाई दिएका थिए। तरलता बढ्दा थालेपछि कर्जा सहज हुने र अतिवाश्यक क्षेत्रमा कर्जा प्रवाह गर्नबाट राष्ट्र बैंकले नरोक्ने भएकाले अहिले पुँजी बढाउन आवश्यक नरहेको गभर्नर अधिकारीले बताएका थिए।
उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनपछि बजारमा तरलता बढ्ने संकेत समेत गभर्नर अधिकारीले गरेका थिए।
‘तपाईंहरुभन्दा बढी चिन्ता राष्ट्र बैंकलाई छ। नआतिनुहोस्, तपाईहरूभन्दा माथि राष्ट्र बैंक छ। हामी समग्र पक्षको विश्लेषण गरेर नीति ल्याउँछौं। खराब कर्जा केही मात्रामा बढेपनि हामी दक्षिण एसियामा राम्रो अवस्था नै छौं,’ गभर्नरलाई उद्धृत गर्दै स्रोतले भन्यो।

