नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका निलम्बित सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई आज (सोमवार) अदालतमा पेस गरिँदैछ । आइतवार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्न लागिएको हो । प्रहरी स्रोतका अनुसार त्यसअघि उनलाई सरकारी वकिलको कार्यालय लगिने छ । रायमाझी पूर्व उपप्रधानमन्त्री समेत हुन् ।
उनलाई गएराति काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो । फरार भएको ११ दिनपछि उनलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । उनी पक्राउ परेसँगै यो प्रकरणमा प्रहरी हिरासतमा पुग्नेको संख्यामा १३ जना पुगेको छ । शरणार्थी प्रकरणमा जोडिएका उनका छोरा सन्दिप यसअघि नै पक्राउ परिसकेका छन् ।
यस्तै प्रकरणमा जोडिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बहालवाला सचिव टेकनारायण पाण्डेसमेत पक्राउ परिसकेका छन् । यस्तै नरेन्द्र केसी, सन्दिप रायमाझी, सागर राई, रामशरण केसी, गोविन्द चौधरी, सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी र कुमार गुरुङ पनि प्रहरी हिरासतमा छन् ।
उनीहरूमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई थप चार दिनको समय दिएको छ ।
प्रकरणमा जोडिएका कांग्रेस नेता तथा पूर्वसांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरू दुवै जना फरार छन् । यस्तै प्रकरणमा नाम जोडिएकी खाँण पत्नी मन्जु भने सम्पर्कविहीन छिन् ।

