नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य रहेको बताएकी छिन् ।
टोकियोस्थित नेपाली दूतावास, जाइका एन्ड जेट्रो र युएनआइडीओको संयुक्त आयोजनामा जापानको टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राणाले वैदेशिक लगानी स्वदेशी लगानीको परिपूरकमात्रै नभएर लगानी र बचतबीचको खाडललाई कम गर्ने र विदेशी विनिमय स्रोत पनि भएको स्पष्ट पारेकाे टोकियोस्थित नेपाली दूतावासले जनाएको छ ।
‘वैदेशिक लगानी पुँजी र प्रविधि दुवैको स्रोत हो, यसबाट ज्ञान र सीपका साथै प्रविधि पनि हस्तान्तरण हुन्छ,’ उनले भनिन्, ‘प्रत्यक्ष वैदेशिक लगानीले नयाँ रोजगारीका अवसर पनि सिर्जना गर्ने भएकाले नेपालजस्तो देशको विकासका लागि वैदेशिक लगानी निकै आवश्यक छ ।’
डा. राणाले नेपालमा लगानीमैत्री वातावरण रहेकाले लगानी गरेर मुनाफा लिन विश्वका लगानीकर्ताहरूलाई आग्रह पनि गरिन् । ‘नेपालमा लगानीका लागि उचित वातावरण छ, लगानीका प्रशस्तै सम्भावनाहरू पनि छन्, हाल लगानी गरिरहेका कतिपय मल्टिनेसनल कम्पनीहरूले राम्रो मुनाफा लिएका पनि छन् । त्यसैले म सबै लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गर्दछु,’ उनले भनिन् ।
उनले चीन र भारत तथा अन्य उदीयमान अर्थतन्त्र भएका मुलुकमा पनि साना तथा मझौला उद्यमको विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी महत्त्वपूर्ण देखिएको बताइन् । उनले नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा पनि वैदेशिक लगानीको आरओई (रिटर्न अन इक्विटी) अर्थात् इक्विटीमा औसत प्रतिफल १५ प्रतिशत देखाएको बताइन् । ‘नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २०२०/२१ मा वैदेशिक लगानी भएका कम्पनीहरूको औसत आरओई १५ प्रतिशत थियो,’ उनले भनिन् ।
डा. राणाले वैदेशिक लगानी रहेको युनिलिभर नेपाल लिमिटेडले विगत १० वर्षमा एक सयदेखि एक हजार दुई सय ७० प्रतिशतसम्म लाभांश प्राप्त गरेको पनि बताइन् । उनले नेपालले खुला, उदार र बजारमुखी नीति अवलम्बन गरेको भन्दै नेपालमा लगानीमैत्री वातावरण रहेको बताइन् । रासस

