झापाको कमल गाउँपालिकामा एकै परिवारका दुई जनाको हत्या भएको छ । हत्या आरोपमा सोही घरका सदस्य पक्राउ परेका छन् ।
प्रहरीका अनुसार शनिबार राति कमल गाउँपालिका–२ सिमलडाँगीका चन्द्रकला माझी र सन्तबहादुर माझीको खुकुरी प्रहार गरी हत्या भएको हो । हत्या आरोपमा २३ वर्षका चन्द्रबहादुर माझी पक्राउ परेका छन् । उनी चन्द्रकलाको छोरा र सन्तबहादुरको भतिज हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति साढे १० बजे अलग अलग कोठामा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र सोही उमेरका काका सन्तबहादुरलाई चन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
घटनापछि भाग्दै गरेका चन्द्र माझीलाई प्रहरीले पक्राउ गरेको छ । दुवै जनाकाे शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।
पारिवारिक विवादका कारण आमा र काकाको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

