काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दल घोषणापत्र लेखनको आन्तरिक गृहकार्यमा जुटेका छन् । दसैं सकिनेबितिकै घोषणापत्र सार्वजनिक गर्ने उनीहरूको तयारी छ ।
समानुपातिकतर्फ बन्दसूची बुझाइसकेका राजनीतिक दल त्यसमा सच्याउँदै प्रत्यक्षतर्फ सिट बाँडफाँट र टिकट वितरणको अन्तिम गृहकार्यमा जुटेका छन् । टिकट बाँडफाँट र वितरण सकिएर घोषणापत्र सार्वजनिक गर्ने योजना उनीहरूको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)सहित साना दल घोषणापत्र लेखनको अन्तिम तयारीमा छन् ।
दसैंलगत्तै सार्वजनिक गर्ने तयारी
उनीहरूले आफ्नो घोषणापत्रमा विभिन्न पक्षसँग सुझाव संकलन गर्दै सर्वसाधारण आकर्षित गर्ने योजना बुनिरहेका छन् । यद्यपि, राजनीतिक दलले विगतमा घोषणापत्रमार्फत व्यक्त गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आएका छन् ।
विगतका प्रतिबद्धता सत्तामा पुगेपछि पूरा नगरेको भन्दै स्वतन्त्र उम्मेदवारतर्फ आकर्षित सर्वसाधारणलाई दलहरूले ‘महत्वकांक्षी’ योजनासहित आफूतर्फ आकर्षित हुनेगरी घोषणापत्र ल्याउने तयारी गरेका छन् ।
शिक्षा, स्वास्थ्य, खानेपानीदेखि रेल, बिजुलीसहित महत्वकांक्षी योजना समेटेर घोषणापत्र ल्याउने उनीहरूले बताएका छन् ।
नेकपा एमाले
प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरेरै घोषणापत्र निर्माणमा केन्द्रित भएको छ । पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहित शीर्ष नेताको टोली घोषणापत्रको मस्यौदा गरिरहेको छ ।
एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङ दसैं–तिहारबीच घोषणापत्र सार्वजनिक गर्ने तयारीमा आफूहरू रहेको बताउँछन् । उनका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फको टिकट वितरण तथा बन्दसूचीलगायत सकेर घोषणापत्रलाई अन्तिम रूप दिने र सार्वजनिक गरिनेछ ।
ग्त १५ भदौसम्म पार्टीका सबै तह र जनवर्गीय संगठनबाट सुझाव संकलन गरिसकिएको र २५ असोजसम्म सर्वसाधारण र विज्ञका माध्यमबाट आएका ग्रहणयोग्य सुझाव लिएर घोषणापत्रलाई अन्तिम चरणमा पु-याइने भएको छ ।
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले घोषणापत्र निर्माण तीव्र बनाएको छ । माओवादी केन्द्रका सचिव एवं घोषणापत्र मस्यौदा समिति सदस्य गणेश शाहले घोषणापत्रलाई अन्तिम रूप दिनमात्र बाँकी रहेको बताए । विभिन्न क्षेत्रबाट महत्वपूर्ण सुझाव प्राप्त भएको बताउँदै उनले ती सुझाव समावेश गरेर दसैंलगत्तै घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए । माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय मस्यौदा समिति गठन गरेरै घोषणापत्रको मस्यौदा तयार गरिरहेको छ ।
नेपाली कांग्रेस
सत्तारूढ कांग्रेसले पनि समिति नै बनाएर घोषणापत्र लेखन कार्य थालेको छ । कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा गठित समितिले घोषणापत्रलाई अन्तिम रूप दिएपछि सार्वजनिक गर्ने योजनामा कांग्रेस छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले घोषणापत्र तयारी समितिले जनभावना प्रतिनिधित्व गर्नेगरी सर्वसाधारणको सुझाव संकलन कार्य सम्पन्न गरिएको जानकारी दिए । घोषणापत्रलाई अन्तिम रूप दिएर छिट्टै सार्वजनिक गर्ने तयारी गरिएको छ ।
नेकपा एस
एकीकृत समाजवादीले उपमहासचिव गंगालाल तुलाधर नेतृत्वमा तीन सदस्यीय घोषणापत्र लेखन समिति गठन गरेको छ । जसमा पार्टीका उपमहासचिवद्वय प्रकाश ज्वाला र डा.विजय पौडेल छन् ।
एकीकृत समाजवादी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा घोषणापत्र लेखनले अन्तिम रूप लिएको बताउँछन् । यद्यपि, सार्वजनिक भने गठबन्धनले सिट बाँडफाँट गरेपछि मात्रै हुने उनले जनाए ।
नेपाल समाजवादी पार्टी
माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी एउटै चुनाव चिह्न र घोषणापत्रमा निर्वाचनमा सहभागी हुँदै छन् ।
उता, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच साझा घोषणापत्र र आ–आफ्नै चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने विषयमा समेत आन्तरिक छलफल भइरहेको बताइएको छ ।
उता, जसपा, लोसपा, जनमत पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, राप्रपालगायत दलसमेत घोषणपत्र मस्यौदाको अन्तिम तयारीमा जुटेका छन् ।

