काठमाडौं । नेकपा एमालेले पूर्व उपमहासचिव घनश्याम भुसाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची सचिव छविलाल विश्वकर्मालाई दिएका छन् । स्रोतका अनुसार यो सूचीमा भुसालको नाम छैन ।
एमालेको १०औं महाअधिवेशनमा ओलीले घोषणा गरेको सूचीमा असहमत भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसयता पनि उनले अध्यक्ष ओलीमाथि प्रश्न उठाउने गरेका थिए ।
एमालेको क्षेत्रीय कमिटीले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि भुसाल र बासुदेव घिमिरेको नाम सिफारिस भएको थियो । भुसाल स्वयंम भने आफ्नो घर भएको क्षेत्र रुपन्देही १ बाट उम्मेदवार हुन चाहन्थे । तर जिल्लाले उनको नाम पठाएन ।
क्षेत्र नम्बर ३ मा भुसाल र घिमिरेको नाम मात्र सिफारिस भयो । एमाले नेतृत्वले यो क्षेत्र तालमेलका लागि छुट्याएको छ । यो क्षेत्रमा एमालेले राप्रपाका वरिष्ठ नेता दीपक बोहोरालाई समर्थन गर्ने सम्भावना छ ।
राप्रपाका एक पदाधिकारीले पनि रुपन्देही ३ आफूहरुले पाउने पक्का भएको बताउँछन् ।

