काठमाडौं : नेकपा एमालेले समानुपातिकसँगै प्रत्यक्षतर्फ चुनाव लड्नेहरूको नाम पनि धमाधम टुंग्याउने क्रमलाई तीव्रता दिएको छ।
एमालेका पूर्व उपाध्यक्ष भीम रावलले अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारको टिकट नपाउने पक्का भएको छ भने माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाएका छन्।
२०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका रावल यसपटक भने सो क्षेत्रबाट उम्मेदवार बन्नबाट वञ्चित भएका छन्। उनले २०५६ सालमा मात्र निर्वाचन हारेका थिए। २०६४ सालमा भने उनी समानुपातिकतर्फको सांसद बनेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष लडेका रावल एमालेमै रहेर प्रतिपक्षीको जस्तो भूमिका निर्वाह गर्दै आएका छन्। उनी लामो समयदेखि सत्ताको स्वाद लिइरहने नेतामा पर्छन्।
अछाम–२ बाट यज्ञ बोगटीले उम्मेदवारी दिने तय भएको छ। एमालेमै रहेर १० भाइको टिममा रहेका योगेश भट्टराईले भने टिकट पाउने भएका छन्। उनले २०७४ मा वाम गठबन्धनको तर्फबाट चुनाव जितेका थिए। अष्टलक्ष्मी शाक्यले टिकट पाउँदा घनश्याम भुषालको टिकट भने अन्योलमै छ।
यसैगरी एमालेले सिन्धुपाल्चोकका सबै उम्मेदवार टुंगो लगाएको छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङलाई टिकट दिइएको हो। पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा यसपटक पनि एमाले अध्यक्ष ओलीको रोजाइमा परेका छन्। उनलाई काभ्रे क्षेत्र नम्बर २ बाट टिकट दिइएको छ भने क्षेत्र नम्बर १ बाट रेशम लामालाई उम्मेदवार बनाउने भएको छ।
राप्रपाबाट संविधानसभा सदस्य भएका लामा हाल एमालेमा छन्।
देउवालाई हराउने एमाले रणनीति
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चक्मा दिन एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने भएको छ। एमाले डडेलधुराले पूर्वप्रदेश मन्त्री पठानसिंह बोहोराको नाम एकल सिफारिस गरेको थियो। तर, उनलाई नभएर नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको छ। सँगै देउवालाई २४ वर्ष साथ दिएका मल्लले उनीसँगै प्रतिस्पर्धा गर्ने भएका हुन्।
कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बीपी) मा लागेका मल्लसँग गएको स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो। त्यही तालमेललाई निरन्तरता दिँदै प्रतिनिधिसभामा मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको हो। डडेलधुरामा २०४८ सालदेखि लगातार देउवा निर्वाचित हुँदै आएका छन्।
प्रदेशसभातर्फ भने दुवै क्षेत्रमा एमालेले उम्मेदवारी दिने भएको छ। पठानसिंह बोहोरा र गजेन्द्र शाही एमालेबाट प्रदेश तर्फका उम्मेदवार हुने भएका छन्।
कैलाली–१ मा टपेन्द्र रावल, २ मा झपड रावल, कैलाली ३ मा गौरीशंकर चौधरी, कैलाली ४ मा लेखराज भट्ट र ५ बाट नारदमुनि रानाले टिकट पाएका छन्।
एमालेकी गंगाको स्वतन्त्र उम्मेदवारी
नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन्। एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी चौधरीले आज फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी छन्।
सो क्षेत्रबाट एमालेले पोलिटब्युरो सदस्य शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन्। उनले लेखेकी छन्, ‘आज मैले ठीक निर्णय गरेँ या बेठीक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैँ लागिरहनेछु। जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन्। देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ।’
पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद बनेकी थिइन्।
यसैगरी, कञ्चनपुर–१ मा तारा लामा, कञ्चनपुर–२ मा नरबहादुर धामी, कञ्चनपुर–३ बाट निरु पाल, कैलाली–१ मा टपेन्द्र रावल, कैलाली २ मा झपड रावल, कैलाली ३ मा गौरीशंकर चौधरी, कैलाली ४ मा लेखराज भट्ट, कैलाली ५ मा नारदमुनि रानाको करिब टुंगिएको छ।
त्यसैगरी एमालेले डोटीबाट प्रतिनिधिसभामा गौरी ओली, प्रदेशसभामा चक्र मल्ल र प्रेम बम, बैतडी प्रतिनिधिसभामा दामोदर भण्डारी, प्रदेशसभामा लीलाधर भट्ट र सुरेन्द्र दाहाल, दार्चुला प्रतिनिधिसभामा गणेश ठगुन्ना, प्रदेशसभामा हरिदेव जोशी र रामदत्त जोशी, बझाङ प्रतिनिधिसभामा ऐन महर, प्रदेशसभामा एलबी रावल र अफिलाल ओखेडा, बाजुरा प्रतिनिधिसभामा कर्ण थापा, प्रदेशसभा (क) बलदेव रेग्मी र (ख) मा लालबहादुर थापा, प्रतिनिधिसभा सदस्यमा बाजुरामा कर्ण थापा, बझाङमा ऐन महर, दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, डोटीमा गौरी ओली, कञ्चनपुर–१ बाट तारा लामा, २ बाट नरबहादुर धामी र ३ बाट निरु पालले टिकट पाएका छन्।

