चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुले चुनाव लड्नका लागि मात्रै चितवन नरोजेको बताएका छन् ।
आज (आइतबार) चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गर्दै उनले यस्तो बताएका हुन् । उनले चितवनमै बसोबास गर्ने तयारी भइरहेको समेत बताए ।
चितवन आफ्नो कर्म र राजनीतिसँग जोडिएकोले सधैं चितवनमै बस्ने सोच रहेको उनले बताए । ‘म चितवनमा नै बसोबास गर्ने तयारीमा छु । चुनाव लड्न मात्रै आउने होइन कि अब मेरो बसाई नै यही हुन्छ । घर जग्गा किनेर बस्ने अवस्थामा अहिले नै त छैन । तर सुरु गर्न खोजेको छु । कर्म र र राजनीतिमा जोडिएको हुनाले चितवनमै बस्ने तयारी गर्दैछु ।
जीवनको भन्दै भन्दा अफ्ठ्यारो अवस्थामा चितवनले साथ दिएकोले यहीबाट चुनाव लड्न लागेको उनको भनाइ थियो । ‘अब मेरो घर चितवन हो । मलाई दु:ख पर्दा सघाएको, मलाई साथ दिएको चितवन, चुनाव पनि यहीबाट लड्ने भएको अब म चितवनकै हुन्छु’, उनले भने ।
चितवनले नै आफुलाई राजनीतिमा लाग्न प्रेरणा दिएको उनको भनाइ थियो । चितवनबासीले आफुलाई मनमा राखेकोले यही नै आफ्नो चुनाव जित्ने आधार भएको उनले बताए । ‘चितवन नै त त्यो ठाउँ हो जसले बारम्बार यही आउनुस्, राजनीतिमा लाग्नुस्, सञ्चार कर्ममा राम्रै गरिरहदा चितवनले परिवर्तन खोजीरहेको छ, नयाँ पुस्ता अघि बढ्नुपर्छ भनेर प्रेरणा दिएको हो’, उनले भने ।
उनले अघि भने,’म चितवनबासीको मनमा बसेको छु । चितवनले मलाई मनमा राखेको भनेर अफ्ठ्यारो परिस्थितिमा प्रमाणित भइसकेको छ । मेरो सबै भन्दा ठूलो आधार नै त्यही हो । म न कोही, मेरो कुनै नाता नहुँदा पनि चितवनले यस्तो नाता जोडिदिएको छ । यही नै मेरो आधार हो ।’
उनले आफु चितवन आउनु नै महत्त्वपूर्ण निर्णय भएको बताए । उनले चुनावमा उठेका सबै उम्मेदवार प्रतिस्पर्धि भएको भन्दै आफु खरो रुपमा चुनावी मैदानमा उत्रिने बताए । उनले अब चुवानी कार्यक्रमहरु सुरु गरिने बताए ।

