काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युत उच्च माग हुने लक्ष्मीपूजाको दिन करिब ४०० मेगावाट सरप्लस(बचत) हुने प्रक्षेपण गरेको छ।अघिल्ला वर्षहरु विद्युत व्यवस्थापनको चिन्तामा हुने प्राधिकरणका अधिकारीहरु बचत हुने भएकाले ढुक्क छन्।
विगतमा प्राधिकरणको स्युचाटारस्थित भारप्रेषण केन्द्र पुगेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफै व्यवस्थापनमा बिहानैदेखि खटिने गरेका थिए। तर यो बर्ष भने खेर जाने अवस्था रहेकाले साँझ मात्रै निरीक्षणका लागि पुग्ने तयारीमा छन्।
‘३/४ सय मेगावाट स्पील हुने अवस्था छ। अहिले ५०० मेगावाट स्पील छ,’ उनले बिजमाण्डूसँग भने। घिसिङका अनुसार करिब अहिले प्रणालीमा करिब २००० मेगावाट विद्युत छ। प्राधिकरणका अनुसार दिउँसो १००० र साँझ करिब १२०० मेगावाट आन्तरिक माग छ।
तिहारका कारण उद्योगहरु बन्द हुँदा ४०० मेगावाट लोड घटेको छ। भारतमा ४०० मेगावाट विद्युत भारत निर्यात भइरहेको छ। भारत निर्यात सहित करिब १६०० मेगावाट माग रहेको छ। लक्ष्मीपूजाको दिन अर्थात आज साँझ १६५० मेगावाट देखि १७०० मेगावाट अधिकतम लोड पुग्ने प्रक्षेपण गरिएको घिसिङले बताए।
‘तयारी नै गर्नु पर्दैन। लोड नै छैन,’ घिसिङले भने,’ तिहार झिलिमिली बत्तीको पर्व भएकाले जतिसक्दो धेरै बाल्नुहोस्। खपत बढाउन सबैमा ग्राहकवर्गलाई प्राधिकरणको अनुरोध छ।’
नेपालको कुल जडित क्षमता २२०० मेगावाट पुगेको छ। अहिले जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना बन्द छ। जसका कारण १०० मेगावाट विद्युत कटौति छ भने माथिल्लो तामाकोसी जलविद्युत आयोजना (४५६ मेगावाट) को उत्पादन १०० मेगावाटले घटेको छ। जसका कारण प्रणालीमा करिब २००० मेगावाट मात्रै छ। ‘प्राविधिक समस्या आयो भने भन्न सकिँदैन। कतै ट्रान्सफर्मरमा समस्या आउन सक्छ। ढुक्क भएर बत्ती बाल्न सबैमा अनुरोध गर्दछु। हाम्रो आफ्नो उत्पादन हो। बिजुली गाडी चलाउ, इन्डक्सन चलाउ खपत बढाउने नै हो,’ उनले भने।
भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले यो वर्ष आन्तरिक उत्पादन पर्याप्त भएकाले व्यवस्थापनका लागि चिन्ता लिइरहनुपर्ने अवस्था नभएको बताए। ‘हाम्रै उत्पादन पर्याप्त छ। प्रक्षेपण गरिरहनै पर्दैन। हाम्रो माग १२/१३ सयभन्दा बढी छैन,’ उनले भने,’ पहिले जस्तो समस्या छैन।हाम्रो टीम तयार अवस्थामा नै हुन्छ। हामीले त्यस्तो ठुलो तयारी गर्नुपर्ने अवस्था छैन।’
२०७३ को लक्ष्मी पुजाकै दिन १८ घण्टासम्मको लोडसेडिङ अन्त्य भएको थियो। प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नै थिए। परीक्षणका रुपमा उनले लक्ष्मीपूजालाई छानेका थिए। यहि दिन नेपालमा बिजुलीको माग सबैभन्दा धेरै हुने गरेको थियो। उनको व्यवस्थापन सफल भएपछि कुलमानको वाहीवाही भएको थियो।
माथिल्लो तामाकोसी जलविद्युत आयोजना (४५६ मेगावाट) संचालनमा आएपछि नेपालको जलविद्युतमा गुणात्मक परिवर्तन आएको हो। अहिले हिउँदको केहि महिना बाहेक आयात गर्नुपर्ने अवस्था छैन। अधिकांश जलविद्युत आयोजनाहरु नदी प्रवाहमा आधारित रहेका छन्।
हिउँदमा ३२ देखि ३५ प्रतिशत मात्रै उत्पादन हुने गरेका कारण हिउँदमा भारतबाट ४ सय मेगावाटसम्म आयात गर्नुपर्ने अवस्था छ। बर्खामा भने प्राधिकरणले सरप्लस हुने ४०० मेगावाट नै निर्यात गर्ने गरेको छ। अझै दुई/तीन बर्ष आयात गरिरहनुपर्ने बाध्यात्मक अवस्था छ।

