कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४:५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६:४५ बजे छोड्नेछ । शास्त्रीय मान्यताअनुसार सोमबार राति ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्न हुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्
ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नुहुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

