धादिङ क्षेत्र नं २ मा आसन्न निर्वाचनको माहोल बेस्सरी तातेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यासी उम्मेदवार चुनावी घोषणापत्र बोकेर मतदाताको घरघर पुगिरहेका छन् । धादिङ–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेकपा (एमाले)बाट खेम लोहनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
कांग्रेसका अधिकारीलाई नेकपा (माओवादी केन्द्र) र एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) तथा नेपाल समाजवादी पार्टीको साथ रहेको छ । एमालेका उम्मेदवार लोहनीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ दिएको छ । यसो त यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बसुमाया तामाङ, नेपाली कांग्रेस बिपीबाट शङ्कर दर्जी, जनता समाजवादी पार्टी नेपालबाट मेकरमान तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट धनमाया तामाङ प्रतिस्पर्धामा छन् । मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमालेकै उम्मेदवारबीच हुने देखिएको छ ।
नीलकण्ठ नगरपालिका नं १२ का कुलप्रसाद ढकालले भने, “एउटै व्यक्तिलाई धेरै पटक भोट हालियो, हाम्रा चार पुस्ताले एउटै उम्मेदवारलाई जितायौँ तर गाउँको विकासले मुहार फेर्न सकेन ।” विगतमा तीन वटामा निर्वाचन क्षेत्र रहेको जिल्लामा सङ्घीयतापछि राज्य पुनःसंरचना गर्दा दुई वटा निर्वाचन क्षेत्र भएको छ । तीमध्ये पृथ्वीराजमार्गदेखि दक्षिणको महाभारत सिमानालाई जोडेर एउटा क्षेत्र नं १ र जिल्ला सदरमुकामदेखि उत्तरको हिमाली भेगलाई समेटेर क्षेत्र नं २ बनेको छ । एउटा प्रतिनिधिसभा क्षेत्रभित्र दुई वटा प्रदेशसभा क्षेत्र छ । क्षेत्र नं २ मा नीलकण्ठ नगरपालिकासहित ज्वालामुखी, त्रिपुरासुन्दरी, गङ्गाजमुना, नेत्रावती डबजोङ, खनियाबास र रुविभ्याली गाउँपालिका पर्दछ । सो क्षेत्रमा एक लाख ३६ हजार सातसय ४२ मतदाता छन् ।
जिल्ला निर्वाचन कार्यालय धादिङको तथ्याङ्कअनुसार प्रदेशसभा (क) मा ७२ हजार चार सय १४ र प्रदेशसभा (ख) मा ६४ हजार तीन सय २८ मतदाता छन् । सङ्घीयतापछिको पहिलो संसदीय निर्वाचनमा यस क्षेत्रबाट एमालेका नेता खेमप्रसाद लोहनी विजयी भएका थिए । कांग्रेसका नेता दिलमान पाख्रिनलाई छ सय ४० मतले पराजित गर्दै लोहनी विजयी भएका हुन् । लोहनीलाई तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्रको साथ थियो । यसपटक पनि उम्मेदवारी दिएका सवै व्यक्ति र दलले आफूले नै विजय हासिल गर्ने बताइरहँदा गठबन्धनकोतर्फबाट कांग्रेस र राप्रपासँग तालमेलमा रहेको एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतका आधारमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा कुन उम्मेदवार कति बलियो भन्ने लेखाजोखा निकाल्न सकिन्छ ।

