राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन घटनालाई लिएर आक्रोशित नहुन आफ्ना कार्यकर्ता र समर्थकलाई आग्रह गरेका छन् । कसैले गुण्डागर्दी गर्यो भनेर त्यसै गर्नु आफ्नो पार्टीको चरित्र नभएको बताउँदै लामिछानेले यसबारे कुनै पनि नकारात्मक टिकाटिप्पणी नगर्न र संयमित हुन आग्रह गरेका हुन् ।
‘आज जे भयो निन्दनीय कार्य भयो, हामीलाई माया गर्ने समर्थक र उम्मेदवारहरु, सबैबाट प्रतिक्रिया आइरहेको छ’, लामिछानेले आइतबार राति फेसबुक लाइभमार्फत भने, ‘कृपया मेरो बिन्ती छ । कोही पनि आक्रोशित नभइदिनु होला । यो आक्रोशलाई सम्हाल्नु होला । कुनै पनि किसिमको प्रतिक्रिया नदिनु होला ।’
उनले मतदाता जसको पक्षमा हुन्छन् नतिजा पनि उसैको पक्षमा हुने भन्दै आफ्नो पार्टीले देशभरबाट जनताको मन जितेको दाबी गरे । ‘आम मतदाताको मत र मन नजितिकन कोही पनि निर्वाचित हुँदैन । सबैलाई धैर्य गर्न र कसैलाई पनि उत्तेजित नहुन अनुरोध गर्दछु’, उनले भने ।
उनले प्रहरीकै अगाडि भएको भन्दै तोडफोडका आक्रमणकारीलाई राज्यबाटै संरक्षण दिने काम भएको पनि आरोप लगाए । उनले दोषीमाथि कडा कारबाहीको माग पनि गरेका छन् ।
चितवनमा आइतबार लामिछानेको चुनावी प्रचारप्रसारका क्रममा गाडीमा तोडफोड भएको थियो ।

