काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन् ।
आज बिहान भरतपुर १४ स्थित राष्ट्रिय आधारभूत माविको मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘गठबन्धनले बहुमत ल्याउँछ र बहुमतको सरकार बन्छ ।’ उनले भने ।
निर्वाचन स्वच्छ र धाधलीरहित हुने भन्दै उनले यो निर्वाचन लोकतन्त्र र संविधानलाई संस्थागत गर्ने प्रक्रियामा महत्वपूर्ण रहेको बताए । उनले सबै मतदातालाई सक्रियतापूर्वक मतदानमा भाग लिन आग्रह पनि गरे ।
गठबन्धनबाट को प्रधानमन्त्री बन्छ भन्ने पत्रकारको प्रश्नमा उनले अहिले प्रधानमन्त्रीको टुंगो नलागेको बताए । ‘गठबन्धनले प्रधानमन्त्रीको टुंगो लगाएको छैन,’ उनले भने, ‘प्रधानमन्त्री समस्याको विषय होइन । छलफल गरेर टुंगो लगाउँछौँ । प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैन ।’

