दैलेख । मतदान अधिकृत निदाएपछि मतपेटिका छुटेको छ । दैलेखको ठाटीकाँध गाउँपालिका २ जनता प्रावि पिपलचौतरा मतदान गरेका मतपेटिका प्रहरी चौकी ठाटिकाँधमै छुटेपछि विवाद भएको छ ।
मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा चारवटा मतपेटीका राखेर संकलन गर्ने गाडी आउन्जेल आफू एकछिन सुत्छु भन्दै निदाएका थिए । उनी निदाएसँगै मतपेटिका चौकीमै छुटेको थियो । मतपेटिका चौकीमै छुटेपछि विवाद पनि उत्पन्न भएको छ ।
उक्त मतदान केन्द्रमा सात सय मतदातामध्ये ४५८ मत खसेको थियो । अहिले प्रहरी चौकी ठाटिकाँधमा सबै राजनीतिक दलका प्रतिनिधि उपस्थित हुँदै छन् । राजनीतिक दलका प्रतिनिधिहरुले मतपेटिकाको सिल हेर्ने र त्यसपछि के गर्ने निर्णय गर्ने बताएका छन् ।मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार लापरबाही हो वा जानीजानी गरेको बैठकपछि निर्णय गरिने बताए । उक्त मतपेटिका क्षेत्र नम्बर २, दुल्लुस्थित मतगणना स्थलमा ल्याउनुपर्ने थियो ।

