काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सरकारमा जाने भएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका राउत र कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको भेटवार्तामा जनमत पार्टी पनि नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा सामेल हुने छलफल भएको हो ।
भेटमा प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरूको सरकार बनाउन आग्रह राउतलाई गरेका थिए । छलफलको क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले आफू सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक रहेको पनि बताएका छन् ।
कांग्रेस नेता विमलेन्द्र निधिले सरकार गठन गर्न दुई नेताबीच उक्त सहमति भएको जानकारी दिए । निधिले भने, ‘भर्खरै जनमत पार्टीका अध्यक्ष राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भयो । दुवै नेताबीचको छलफल सकारात्मक भयो । कांग्रेस संघ र प्रदेश दुवै तहमा सहकार्य गर्ने सहमति भएको छ,’
प्रतिनिधिसभा निर्वाचन २०७९ मा जनमत पार्टीले प्रत्यक्षतर्फ १ सिट जितेको छ भने प्रदेशसभातर्फ ७ सिट जितेको छ । यस पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ समेत थ्रेसहोल्ड कटाएको छ ।

