उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भर्चुअल उपस्थितिमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठक शुरू भएको छ ।
गृह मन्त्रालयबाट भर्चुअल रूपमा गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुख सहभागी बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायमा प्रतिनिधि समेत सहभागी भएका गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए । उनका अनुसार जारी बैठकमा गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा तथा सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन दिने जनाइएको छ ।
गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन उनले गृह प्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाएका थिए । उनले निर्मला पन्त हत्या प्रकरणलाई तथ्यका आधारमा अनुसन्धान अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरीले नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान समिति गठन पनि भइसकेको छ ।
गृहमन्त्री लामिछानेले राहदानी विभागको समेत स्थलगत अनुगमन गरी सेवा सुधारका लागि आवश्यक निर्देशन दिइसकेका छन् । सोमवारको बैठकमा भने गृहमन्त्री समक्ष देशभरको सुरक्षा अवस्थाबारे सम्बद्ध अधिकारीबाट जानकारी गराइने (सुरक्षा ब्रिफिङ) कार्यक्रम तय भएको छ ।
गृहमन्त्री लामिछानेले गृह प्रशासनको काम कारबाही र सेवालाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशन समेत दिने गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री लामिछानेले अधिकांश नागरिक गृह प्रशासनसँग ठोक्किने र जनताका गुनासा पनि बढी गृह अन्तर्गतका निकायमा रहने भएकाले आफूले गृह मन्त्रालय रोजेको यसअघि नै सार्वजनिक गरिसकेका छन् ।
मुख्यतः सोमवारको बैठक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, नागरिकका गुनासा सम्बोधन गर्दै गृह प्रशासनको सेवा छिटो र छरितो रूपमा उपलब्ध गराउने लगायतका विषयमा केन्द्रित रहेको जनाइएको छ ।

