मन्त्रिपरिषद् पूर्णता दिनु अघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि आजै साँझ पाँच बजे बालुवाटारमा संयन्त्रको बैठक बसेर मन्त्रीको कार्यविभाजन तोक्ने तयारी भएको हो ।
‘संसदमा प्रतिनिधित्वको आधारमा मन्त्रालयको संख्या लिने भन्ने सैद्धान्तिक सहमति भएको छ । यसकै आधारमा कार्यविभाजन तोक्न गरी संयन्त्र र गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो’ एमाले अध्यक्ष केपी ओलीनिकट स्रोतले भन्यो, ‘अब आज मन्त्रालयको संख्या र कार्यविभाजन सबैथोक टुंगो लाग्छ ।’
सत्तारुढ दलबीच एमालेले ८, नेकपा माओवादी केन्द्रले ४, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ र राप्रपाले २ मन्त्रालय पाउने गरी दलहरूले मोटामोटी सहमति गरेका छन् ।
प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
यस ११ पुसमा उपप्रधानमन्त्री एवं अर्थमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवं गृहमा रवि लामिछाने र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ चयन भएका थिए । अन्य एमालेका तीन र जनमतका एक नेतालाई मन्त्रीमा नियुक्त गरिए पनि जिम्मेवारी तोकिएको थिएन ।

