आफूले जिम्मेवारी पाएको २२ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ बसेको सत्ता साझेदार दलको बैठकमा भएको सहमतिअनुसार प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।
प्रचण्डको मन्त्रिपरिषद्मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बन्ने भएका छन् । यससँगै उपप्रधानमन्त्रीको संख्या ४ पुग्ने भएको छ ।
यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थ, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात र रास्वपा सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनिसकेका छन् ।
एमालेले विमला राई पौडेललाई परराष्ट्र, पदम गिरीलाई स्वास्थ्य, हरि उप्रेतीलाई रक्षा, ज्वालाकुमारी साहलाई कृषि र दामोदर भण्डारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाउने भएको छ ।
यसका अलावा एमालेबाट भगवती चौधरी मन्त्री बन्दैछिन् । यसअघि नै मन्त्री बनेका राजेन्द्र राईको पनि मन्त्रालय तोकिन बाँकी छ ।
यस्तै माओवादी केन्द्रबाट नारायणकाजीका अलावा रेखा शर्मा सूचना तथा सञ्चार, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् । माओवादीले सुशीला श्रीपालीलाई पर्यटन राज्यमन्त्री बनाउने भएको छ ।
सत्ता गठबन्धनको तेस्रो दल रास्वपाबाट सभापति रवि लामिछानेका अलावा डीपी अर्याल श्रम तथा रोजगार र शिशिर खनाल शिक्षा मन्त्री बन्ने भएका छन् । रास्वपाले डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको छ ।
यसैगरी राप्रपाबाट अध्यक्ष लिङ्देनका अलावा विक्रम पाण्डे शहरी विकास र ध्रुवबहादुर प्रधान कानून मन्त्री बन्ने भएका छन् ।
राप्रपाले कमल थापालाई पराजित गरी विजयी बनेका दीपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने भएको छ ।
वन र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय भागमा परेको जसपाले असन्तुष्टि जाहेर गरेको छ । तत्काल सरकारमा नजाने बताउँदै जसपाले पदाधिकारी बैठक बोलाएको छ ।
सीके राउतको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानको पनि मन्त्रालय तोकिन बाँकी छ ।
मन्त्री बन्नेका तथा बन्न लागेकामध्ये विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, विक्रम पाण्डे र रेखा शर्माबाहेक अधिकांश नयाँ अनुहार हुन् । दामोदर भण्डारीचाहिँ यसअघि राज्यमन्त्री बनेका थिए ।

