३३ वर्षदेखिको अनुभव हासिल गरेका वरिष्ठ क्याप्टेन कमल केसीले उडाइरहेको यती एयरलाइन्सको एटीआर ७२ जहाज आइतवार पोखरामा दुर्घटनामा पर्यो ।
२०४६ देखि निरन्तर उडान गरिरहेका ६० वर्षीय क्याप्टेन केसीको कमान्डमा रहेको जहाज पोखरामा अवतरण अनुमति (ल्यान्डिङ क्लियरेन्स) पाइसकेपछि दुर्घटनामा परेको थियो ।
वरिष्ठ पाइलट केसी आफैं प्रशिक्षक पाइलट थिए । उनले प्रशिक्षणमा दर्जनौं को–पाइलट क्याप्टेन भइसकेका छन् । तर, उनकै कमान्डको विमान दुर्घटना हुँदा आन्तरिक उडानमा सबैभन्दा ठूलो क्षति हुन पुग्यो ।
दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा एक जाँचबुझ आयोग गठन गरिसकेकाले वास्तविक कारण उक्त आयोगले पत्ता लगाउला ।
आइतवारको दुर्घटनामा प्राविधिकसँगै मानवीय त्रुटिको विषयलाई पनि कतिपयले कारणको रूपमा चर्चा गरिरहेका छन् ।
सहज बाटो छाडेर असहज बाटोबाट अवतरण गर्न खोजेको र ‘शार्प टर्न’ लिएकाले जहाज खसेको अनुमान भइरहेको छ । तर, यो प्राविधिक विषय भएकाले अनुसन्धान नभई यही भन्न सकिने अवस्था छैन ।
यसअघि २०७८ जेठ १५ मा म्याग्दीमा भएको तारा एयरको जहाज दुर्घटनामा पनि वरिष्ठ पाइलट तथा प्रशिक्षक पाइलट प्रभाकर घिमिरे परेका थिए ।
२०७२ मा म्याग्दीमा तारा एयरको जहाज दुर्घटना हुँदा पनि प्रशिक्षक पाइलट रोशन मानन्धर परेका थिए । मानन्धरले उक्त जहाजमा कमान्ड गरेको भए पनि दुर्घटनाबाट उनले जोगाउन सकेनन् ।
यसअघि २०६९ सालमा जोमसोममा दुर्घटना हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रशिक्षक पाइलट प्रभुशरण पाठक परेका थिए ।
यस्तै मकवानपुरमा २०६७ भदौ ८ मा भएको अग्नि एयरको विमान दुर्घटनामा २३ वर्ष उडान अनुभव भएका लक्ष्मीप्रकाश विक्रम शाह (लक्की) परेका थिए ।
उक्त जहाज पहाडमा ठोक्किएर दुर्घटना हुँदा पाठकको कमान्डले काम गर्न सकेन र पाठकसहित अन्य यात्रुहरूले पनि ज्यान गुमाए । त्यो दुर्घटनामा एयर होस्टेस भने बाँच्न सफल भएकी थिएन ।
हवाई जहाज दुर्घटनामा एकपछि अर्को गर्दै वरिष्ठ तथा प्रशिक्षक पाइलटले ज्यान गुमाइरहेका छन् । प्रशिक्षक पाइलटले उडाएको जहाज दुर्घटना परेको र उनीहरूको कमान्डले समेत काम नगरेको विषय अनुसन्धानको विषय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाले बताए ।
वरिष्ठ नै किन बढी दुर्घटनामा छन् भन्ने खोजीको विषय भएको उनको भनाइ छ । तर यसमा सामान्य तर्क गरेर दोषारोपण भने गर्न नमिल्ने उनी बताउँछन् ।
‘वरिष्ठ पाइलट आफैं पर्नुले ओभर कन्फिडेन्स हो कि भनेर कतिपयले आशंका गरे पनि यो विषयमा अनुसन्धानविना केही भन्न सकिने अवस्था छैन,’ देउजाले भने ।
प्राविधिक विषय नबुझी हचुवाको भरमा बोल्न नहुने उनको भनाइ छ ।
त्यसो त हवाई क्षेत्र आफैंमा प्राविधिक विषय भएकाले वरिष्ठ पाइलटले आत्मविश्वास बढी देखाउँदा जोखिम हुनसक्छ भन्ने कुरा भने बारम्बार उठ्ने गरेको छ ।
यसअघि भएका दुर्घटना र यसका प्रकृतिले पनि ती आशंकालाई केही हदसम्म पुष्टि गर्छन् ।
त्यसो त जहाज दुर्घटनापछि हुने सबैजसो छानबिनमा दोष पाइलटमा नै थोपरेर प्रतिवेदन आउने गरेको छ ।
कतिपय अवस्थामा वायु सेवा सञ्चालकको स्वार्थका कारण प्राविधिक कमजोरी लुकाएर पाइलटलाई दोष लगाइएको गुनासो समेत आउने गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धर वरिष्ठ तथा प्रशिक्षक पाइलट दुर्घटनामा पर्नुलाई संयोग मात्रै मान्न सकिने बताउँछन् ।
‘पाइलटको ओभर कन्फिडेन्स भएको भनेर विश्लेषण गर्ने गरिएको भए पनि मलाई भने त्यस्तो लाग्दैन । भवितव्य वरिष्ठ र कनिष्ठ सबैमा हुन सक्छ,’ उनले भने ।
हवाई विज्ञ तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्री पनि यसभन्दा अगाडि दुर्घटनामा परेका केही क्याप्टेन आफ्नो त्रुटिभन्दा मौसमको खराबीका कारण दुर्घटनामा परेको बताउँछन् ।
तर, जोमसोममा भएको दुर्घटनामा परेका प्रभुशरण पाठकले साँघुरो ठाउँबाट जहाजलाई टर्न गराउँदा पहाडमा ठोक्किएको जाँचबुझ प्रतिवेदनले देखाएको थियो ।
पछिल्लो दुर्घटनाको कुरा गर्दा, पोखरा पूर्व र पश्चिम दुवैतर्फबाट अवतरण गर्न मिल्ने धावन मार्ग भएको अन्तर्राष्ट्रिय विमानस्थल हो ।
यो विमानस्थलमा भएको दुर्घटना नै अस्वाभाविक भएकाले अहिले नै यही कारण हो भनेर भन्नु हतारो हुने क्षेत्रीले बताए ।
‘जहाज दुर्घटना प्राविधिक विषय हो । वरिष्ठ पाइलटले आफैंलाई जोखिममा राखेर उडान गर्छन् भनेर हचुवामा विश्लेषण गर्न मिल्दैन,’ उनले भने ।
नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामाले वरिष्ठ र कनिष्ठ भन्दैमा उडानका क्रममा गर्ने काम फरक नहुने बताए । जहाज दुर्घटना कतिबेला र कुन कारणले हुन्छ भन्ने पत्तो नहुने उनको भनाइ छ ।
‘म आफैं विमान चालक हुँ । उड्डयन प्राधिकरणले लाइसेन्स दिएका सबै पाइलटको काम जहाज नै उडाउने भएकाले वरिष्ठ र कनिष्ठले फरक पर्दैन,’ लामाले भने, ‘दुर्घटना कतिबेला र के कारणले हुन्छ भन्ने थाहा हुँदैन ।’
हरेक उडानमा एक न एकजना वरिष्ठ पाइलट हुने भएकाले दुर्घटनामा वरिष्ठहरू परे भनेर भनिरहनुको अर्थ नभएको उनको तर्क छ ।
नेपाल वायुसेवा निगमका पूर्व वरिष्ठ पाइलट केबी लिम्बू पनि पाइलट मान्छे नै भएकाले गल्ती कमजोरी हुन सक्ने तर, जानीजानी कसैले गल्ती नगर्ने बताउँछन् ।
‘पाइलटको काम नै जहाज उडाउनु हो । आफ्नो जिम्मेवारी पूरा गर्ने काम गरेकै हुन्छन् । कुनै पनि पाइलटले जानाजान गल्ती गर्दैनन् । भवितव्यमा पर्नु र नियन्त्रण बाहिर हुनु फरक विषय हुन्,’ लिम्बूले भने ।
कुनै पनि कम्पनीले कनिष्ठलाई एक्लै नछाड्ने र हरेक उडानमा एक न एक वरिष्ठ पाइलटको कमान्ड हुने उनले बताए ।

