नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई संसदमा विश्वासको मत दिएर आफूहरूले ढोक्सा नथापेको बताएका छन् ।
साथै उनले प्रधानमन्त्रीलाई पिंजडामा राख्ने प्रयत्न नगर्न पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
बिहीवार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार प्रस्ताव गर्ने क्रममा महामन्त्री शर्माले पुस २६ गते एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिको जवाफ फर्काएका हुन् ।
‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा मेरो जिल्लावासी कमरेडले कांग्रेसले जालमा माछा पार्न ढोक्सा थापेको बताउनुभएको थियो । हामीले ढोक्सा थापेका छैनौं’, ओलीलाई जवाफ फर्काउँदै विश्वप्रकाशले भने, ‘माछा र ढोक्साको उदाहरण दिएर प्रधानमन्त्रीलाई (राख्न) कसिलो पिंजडा नबनाउन आग्रह गर्छु ।’
पहिला आफू प्रधानमन्त्री रहेको समयमा उच्चस्तरीय राजनीतिक संयन्त्रलाई संविधानविपरीत भनेका ओलीले अहिले प्रचण्डलाई पिंजडामा राख्न खोजेको टिप्पणी महामन्त्री शर्माले गरे ।
‘हामीले ढोक्सा थापेको भन्दा देशको प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजिएको प्रयत्नको रूपमा लिएका छौं,’ संसदमा आफ्नो पहिलो सम्बोधनका क्रममा महामन्त्री शर्माले भने ।
महामन्त्री शर्माले शक्ति सन्तुलनका हिसाबले पनि कांग्रेसले सभामुख पाउनु उपयुक्त हुने बताए ।

