प्रतिनिधि सभा सदस्यहरुका लागि आज बिहीबार र भोलि शुक्रबारका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना हुँदैछ । संघीय ससद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभा सदस्यहरुलाई संसदमा गर्नुपर्ने नियम पालना, अनुशासन तथा अन्य संसदीय गतिविधिबारेमा प्रशिक्षित गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो ।
संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजेदेखि साँझ ४ बजेसम्म अभिमुखीकरण कार्यक्रम हुने प्रवक्ता गिरीले जानकारी दिए ।
भोलि शुक्रबार अपरान्ह ४ बजेसम्म हुने कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, पूर्व सांसद राधेश्याम अधिकारी लगायतले संसद बैठकबारे सांसदहरुलाई अनुशिक्षण गराउने छन् । संसदमा अहिले अधिकांश नयाँ सांसदहरु निर्वाचित भएर आएकाले उनीहरुलाई संसदीय गतिविधिबारे थप जानकारी गराउन कार्यक्रम आयोजना गरिएको गिरीले बताए ।

