सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुरुभएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरुभएको हो । आजको बैठकमा अहिले देखिएका राजनीतिक संकट समाधानमा केन्द्रित हुने नेताहरुले बताएका छन् ।
बिहीवार दिउँसो ३ बजेका लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएपछि आज शुक्रबार बसेको हो । आजको बैठकमा मुख्यगरी राष्ट्रपति र उपराष्ट्रपतिको आगामी निर्वाचन, मन्त्रिपरिषदको पूर्णता, राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी तथा नागरिक उन्मुक्ति पार्टीको माग सम्बोधन बारेमा छलफल हुने एक नेताले बताए ।
रास्वपा सरकारबाट बाहिरिएपछि पहिलो पटक आज संयन्त्रको बैठक बसेको हो । यसअघि पनि सो दलले राजनीतिक संयन्त्र बैठकको माग गर्दैआएको भए पनि बस्न सकेको थिएन । अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटक पटक भेटवार्ता भए पनि राजनीतिक समस्याको समाधान हुन नसकेपछि आज संयन्त्रको बैठक बसेको बताइएको छ ।
यसबीचमा सुदूरपश्चिम प्रदेशको सरकार ढलेको छ । सत्ता साझेदार एक घटक नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेपछि सुदूरपश्चिम सरकार ढलेको हो । यसअघि सरकार गठनमा सहयोग गरेको सो दलले विश्वासको मत दिने बेलामा आफ्नो माग अघि तेस्र्याएको छ । टीकापुर घटनाको आरोपमा जेल जिवन विताइरहेकाहरुलाई तत्काल रिहाई गर्नुपर्ने, लागेका मुद्दा फिर्ता हुनुपर्ने मुख्य माग सो दलले राखेको छ ।
आजको उच्चस्तरीय बैठकमा सो दलको माग मुद्दा सम्बोधनको विषयमा समेत छलफल हुनसक्ने नेताहरुको बुझाई छ । सत्ता साझेदार दलमा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमतपार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको समर्थन रहेको छ ।
बैठकमा नागरिक उन्मुक्ति पार्टीको सहभागीता छैन । सो दलका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले आफूलाई बैठकबारे जानकारी नभएको बताइन् । बैठक बालुवाटारमा शुरुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।

