यातायात मजदुरको आन्दोलनका कारण आज मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प बनेको छ ।
बसपार्कबाट छुट्ने कुनै पनि सार्वजनिक सवारी साधन चलेका छैनन् । गोंगवु बसपार्कमा यात्रु नआउँदा विहानैदेखि सुनसान छ । निजी सवारी साधन पनि खासै चलेका छैनन् । यातायातका साधन नचल्दा यात्रु अलपत्र परेका छन् ।
ट्राफिक प्रहरीले बृद्धि गरेको कारवाहीको शुल्कको विरुद्धमा आन्दोलनरत यातायात मजदूरले हिजो बसपार्क क्षेत्रमा आन्दोलन गरेका थिए ।
प्रहरी र मजदुरबीच दिनभरीजसो तनाव भएको थियो । मजदूरले प्रहरीको गाडीमा आगो लगाएर जलाएका थिए । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेलाई पाँचसयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गर्नेगरेको छ ।

