काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई राष्ट्रपतिको आश्वासन दिएका छन् ।
आइतबार साँझ नेपाली कांग्रेसका नेताहरू प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बालुवाटार पुगेको टोलीसँगको संवादका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कांग्रेसले नै पाउने आश्वासन दिएका हुन् ।
बालुवाटार पुगेका एक नेताले प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै भने, ‘राष्ट्रपतिमा कांग्रेसले उठाएकै उम्मेदवारमाथि राष्ट्रिय सहमति जुटाउनुपर्छ, जुट्छ ।’
यस्तै प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन जोगाएरै राष्ट्रिय सहमति जुटाउनेमा आफ्नो सक्दो प्रयास रहने बताएका थिए । ‘राष्ट्रपतिमा कांग्रेसले उठाएको उम्मेदवारमाथि सहमति नजुटे गाह्रो हुने देख्छु,’ प्रधानमन्त्री प्रचण्डले थप भनेका थिए, ‘तर, वर्तमान गठबन्धन पनि भत्काउनु हुन्न ।’
राष्ट्रपतिमा कांग्रेससँगै सत्ता साझेदार दल नेकपा (एमाले) को पनि सशक्त दाबी छ । उसले पुस १० को सहमतिअनुसार नै राष्ट्रपति आफूले पाउनुपर्ने दाबी दोहोर्याउँदै आएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र भने राष्ट्रिय सहमतिबाटै टुङ्ग्याउने निष्कर्षमा पुगेको छ ।

