काठमाडौं : कप्तान रोहित पौडेलेको शानदार इनिङप्रेरिन नेपालले त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा च्याम्पियन स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको दुई सय १३ रनको लक्ष्य पएको नेपालका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका रोहितले १०१ बलमा सात चौका र चार छक्कासहित अविजित ९५ रनको महत्त्वपूर्ण इनिङ खेले। नेपालले ४४.१ ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
रोहित र करण केसीले नवौं विकेटका लागि ७५ रनको ऐतिहासिक साझेदारी गर्दै नेपाललाई रोमाञ्चक जित दिलाए। रोहित र करणको नवौं विकेटका लागि साझेदारी गरेको सर्वाधिक ठूलो साझेदारी हो। यसअघि यो कीर्तिमान सोमपाल कामी र सन्दीप लामिछानेको नाममा थियो। उनीहरूले नेदरल्यान्ड्सविरुद्ध सन् २०१८ मा ४१ रनको साझेदारी गरेका थिए। त्यस्तै करणले ३७ बलमा दुई चौका र एक छक्कासहित ३१ रनको इनिङ खेले।




















