केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आज बिहीबारबाट शुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा आज शहीद स्मारक एु डिभिजन लिगका दुई प्रतिद्वन्दी नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे शुरु हुनेछ । उद्घाटन अघि सांस्कृतिक कार्यक्रम हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ । प्रतियोगितामा एु डिभिजन क्लबका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई एु डिभिजन क्लबले लिगको तयारीको रुपमा लिएको छ । शीर्ष डिभिजनको लिग फागुन १९ बाट हुँदैछ ।
नेपाल पुलिस क्लबका कप्तान राम वाजीले प्रतियोगितालाई लिगको तयारीको रुपमा लिएको बताए । तयारी राम्रो भएको छ । यो प्रतियोगिता लिगको तयारीको रुपमा हो, उनले भने ।
सातदोबाटोका कप्तान सुदिप गुरुङले प्रतियोगितामा सबै टोलीलाई कठिन प्रतिद्वन्दीको रुपमा हेरेको बताए । हाम्रो टिम युवा र अनुभवी खेलाडीको छ । सबै टिमलाई उत्तिकै महत्वमा राखेका छौँ, उनले बताए ।
न्युरोड टिम एनआरटीका कप्तान बिक्रम धिमालले प्रतियोगिता लिगको तयारीको रुपमा रहेको र आफ्नो टिम सन्तुलित रहेको बताए । डेढ महिनाबाट तयारी गरेका छौँ । बिदेशी खेलाडी आइसकेका छन् । टिम सन्तुलित छ । ट्रफी जित्ने लक्ष्य उनले सुनाए ।
प्रतियोगिताको फाइनल बाहेक सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने आयोजकले जनाएको छ । फाइनल खेल दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछन् ।
प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार रुपैया प्राप्त गर्नेछन् । प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइने आयोजकको भनाइ छ । प्रत्येक खेलका म्यान अफ दि म्याचले १५ हजार नगद हात पार्नेछन् ।

