काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसभित्र माओवादी र माओवादीभित्र कांग्रेस रहेको बताएका छन् । आठदलीय गठबन्धनका सांसदहरुका लागि बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिलेको गठबन्धन देखेर जनता खुसी भएको भन्दै कांग्रेसभित्र माओवादी र माओवादीभित्र कांग्रेस रहेको बताएका हुन् ।
‘हामी सबैको एकअर्काको भोट हो । जनता पनि अहिलेको गठबन्धन देखेर खुसी छन् होला, ठीकै ठाउँमा भोट हालेछौं भनेर,’ उनले भने ।
यसैगरी प्रधानमन्त्री दाहालले आफ्ना लागि प्रधानमन्त्री पदभन्दा पनि राजनीतिक विचार प्रमुख भएको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा आफूले प्रधानमन्त्रीभन्दा आफ्नो राजनीतिक विचार, संविधान र लोकतन्त्र प्रमुख हो भनेर प्रस्ट रुपमा बताउने गरेको समेत उल्लेख गरे ।
ठूलो पार्टीको हैसियतामा कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव लिएर जाऔंभन्दा ओलीले नमानेपछि एमालेसँगको गठबन्धनबाट बाहिरिनुपरेको प्रधानमन्त्री दाहालले बताए ।
उनले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई ८ दलको मात्रै नभएर संसद्मा र निर्वाचन आयोगमा दर्ता भएका १० दलभन्दा बढीको समर्थन रहेको बताए । ‘रामचन्द्रजीलाई नेपाल समाजवादी पार्टी, नेपाल आम पार्टीको पनि समर्थन छ । स्वतन्त्र सांसदहरूको पनि समर्थन रहेको जानकारी गराउँदछु,’ उनले भने
एमालेसँगको गठबन्धनको सुरुआतमै संसद् विघटन सही थियो कि गलत थियो भन्ने डिबेट आएपछि आफूलाई पहिल्यै गठबन्धन धेरै समय नटिक्ने लागेको दाहालले बताए । उनले अहिलेको गठबन्धन चोचोमोचो गरेर सरकार गठनका लागि मात्रै नभएर लोकतान्त्रिक नियम र मान्यताको रक्षाका लागि भएको बताए ।
प्रतिनिधिसभामा प्राप्त गरेको विश्वासकको मतले आफूले नेपालमा राष्ट्रिय सहमति र एकताको रुपमा व्यक्त भएको बताए । ‘मलाई विश्वास आएको विश्वासको मतले नै मैले आउने दिनेमा त्यस्ता पदमा राष्ट्रिय सहमति गर्न उचित हुन्छ भन्ने संकल्प गरेको थिएँ,’ प्रधानमन्त्री दाहालले भने, ‘राष्ट्रिय समझदारी र सहमति गर्नुपर्छ भन्ने स्टेटमेन्ट त्यहीबेला देखि दिँदै आएको हुँ । त्यसपछि पनि मैले बालुवाटारमा बैठक बोलाएर राष्ट्रिय सहमतिको कुरा गरेको थिएँ । ‘
एमाले अध्यक्ष ओलीसँगको पछिल्लो वार्तामा मुलुकको वर्तमान अर्थतन्त्र, राजनीतिक स्थिति र भूराजनीतिक चुनौतीमा राष्ट्रिय सहमति आवश्यक परेको र दुवै जना गएर कांग्रेसलाई राष्ट्रपति पद दिऔं भनेर प्रस्ताव राखेको दाहालले बताए । ‘राजनीतिमा देखापरेका विभिन्न समस्या सामना गर्न त्यसो किन नगर्ने भनेर मैले केपीजीलाई भनेको थिएँ,’ प्रधानमन्त्री दाहालले भने,’देशको ठूलो पार्टीलाई हामीले राष्ट्रपति तपाईंहरुलाई जिम्मा है भन्दा आम जनतामा राम्रो सन्देश हुने र त्यो सन्देशले शान्ति र संविधानमाथि खेल्ने विभिन्न खालको तत्त्वहरूलाई पनि म्यासेज जान्थ्यो । दुर्भाग्य भनौं उहाँ सहमत हुनुभएन । उहाँले कांग्रेसलाई समर्थन गर्न सक्दैनौं भनेपछि हामी दुई बाटो लाग्यौं । ‘

