प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा पूर्व माओवादी नेताहरू बालुवाटारमा भेला भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादीका नेताहरू राजनीतिक विषयमा छलफल गर्न भेला भएका हुन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीलगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्डमाथि नै सर्वोच्चमा मुद्दा दर्ताको तयारी भएसँगै झस्केका माओवादी नेताहरू भावी रणनीति बनाउन बैठकमा जुटेका हुन् ।
पार्टी एकता, द्वन्द्वकालीन घटनाका सन्दर्भमा पछिल्लो समयमा भइरहेका चर्चा र त्यसको समाधानका विषयमा छलफल भइरहेको सचिवालयका सदस्यहरूको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले यसअघि एक सार्वजनिक कार्यक्रममा सशस्त्र युद्धमा मारिएका पाँच हजार जनाको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिलाई लिएर पछिल्लो समय सर्वोच्चमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।
अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायत रिट लिएर आइतवार नै सर्वोच्च पुगेका थिए । आइतवार प्रक्रिया नपुगेर दर्ता नभएको रिट मंगलवार दर्ता हुँदैछ ।
माओवादी घटकहरूको आजको बैठकमा यही विषयमा केन्द्रित भएर छलफल भइरहेको बताइएको छ ।
बैठकमा माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, हरिबोल गजुरेल, शक्ति बस्नेत, मात्रिका यादवलगायतको पनि सहभागिता छ ।

